• गृहपृष्ठ
  • राप्रपाका अध्यक्ष थापाद्वारा नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग

राप्रपाका अध्यक्ष थापाद्वारा नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग

Jan 12th, 2020

काठमाडौँ, २७ पुस (रासस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट मुलुकको एकीकरण सम्भव भएको बताउनुभयो ।

एकीकरण अभियानले हामी आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएकाले उहाँको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “विसं २०७४ मा देउवा सरकारले पृथ्वीजयन्तीलाई एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिएको थियो । राष्ट्रिय एकतालाई बलियो बनाउन सरकारले त्यसलाई निरन्तरता दिनुपर्छ, संसारभर राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ ।”

दोस्रो जनान्दोलनपछि शाहको शालिक तोड्ने र इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागेकाले पार्टीले पृथ्वीजयन्तीका दिन शुभकामना कार्यक्रम शुरु गरेको स्मरण गर्दै अध्यक्ष थापाले नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग गर्नुभयो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता एवं सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता थियो । पार्टीले यही पुस २६ देखि २८ गते तीन दिनसम्म पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन देशभरका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।