• गृहपृष्ठ
  • नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशक विच छलफल

नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशक विच छलफल

Jan 12th, 2020

काठमाडौ, पुुस २७

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको आठ सदस्यीय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरसंग भेटी फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणाली बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

आज आईतबार भएको उक्त भेटघाटमा विभागका महानिर्देशक कुँवरले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्नु भयो । उक्त छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताए । सोही क्रममा उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो पनि गरे । उनले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दे आएको नेपालले बजारको माँग र आपूर्तिका आधारमा बस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गरे । सोही क्रममा उनले सरकारको समृद्धिको नारालाई सवैक्षेत्रले भरथेग गर्नु पर्ने विचार गरे ।

सो छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायीकक्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउँदै आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जानु पर्ने धारणा व्यक्त गरे । सोहि क्रममा उनले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अंहम भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताए । बैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउनु हुंदै अव नयाँ आर्थिक ऐन आएपछि नाडासंग पुनः औपचारिक रुपमा छलफल गर्ने कुंवरले बताए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।