• गृहपृष्ठ
  • शहीद स्मारक लिग : जाउलाखेललाई हराएर मछिन्द्र शीर्ष स्थानमा

शहीद स्मारक लिग : जाउलाखेललाई हराएर मछिन्द्र शीर्ष स्थानमा

Jan 12th, 2020

काठमाडौँ, २७ पुस (रासस)

मछिन्द्र क्लब जाउलाखेल युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा मछिन्द्रले जाउलाखेललाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विशाल राईले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको ३१औँ मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मछिन्द्र छ खेलबाट १३ अङ्क जोड्दै आफूलाई लिगको शीर्ष स्थानमा राख्न सफल भएको छ ।

दशरथ रङ्गशालामा शनिबारभएको अर्को खेलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ । खेलको ७३औँ मिनेटमा मनाङका सुरज विकले रातो कार्ड पाउनुभयो । उहाँले हिमालयनका स्टेफेन समीरलाई फल गरेपछि रातोकार्ड पाउनुभएको हो । लिगमा मनाङ १२ अङ्कका साथ दोस्रो स्थानमा छ । हिमालयनसँग गोलरहित बराबरी खेल्दा मनाङ शीर्ष स्थानमा उक्लिन असफल भएको छ । मनाङले बराबरी खेल्दा त्यसको ठूलो फाइदा मछिन्द्रलाई पुगेको छ । मनाङले हिमालयनसित गोलरहित बराबरी खेल्दा मछिन्द्र शीर्ष स्थानमा पुग्न सफल भएको हो ।