• गृहपृष्ठ
  • सरकार नयाँ सहर निर्माणमा लागेको छ : राज्यमन्त्री मानन्धर

सरकार नयाँ सहर निर्माणमा लागेको छ : राज्यमन्त्री मानन्धर

Jan 11th, 2020

काठमाडौँ, २६ पुस (रासस)

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताउनुभएको छ । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उहाँले उपत्यका नजिकका क्षेत्रमा नयाँ सहर निर्माणमा सरकार लागेको बताउनुभएको हो । “उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ सहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गर्नुभयो । वाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौँ व्यवस्थित हुन नसक्ने उहाँको भनाइ थियो । सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गर्नुभयो । ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठले म्हैपी क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । “आफ्नो लागिभन्दा पनि समाजका लागि काम गरौँ,” उहाँले भन्नुभयो । समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले म्हैपी मन्दिरसम्म जानका लागि घुम्ती बाटो निर्माण अहिलेको प्राथमिकता भएको बताउनुभयो । “घुम्ती बाटो निर्माणका लागि काठमाडौँ महानगरपालिकाले गरेको रु ५० लाख सहयोगले मात्रै हुन सक्दैन,” अध्यक्ष श्रेष्ठले भन्नुभयो । विसं २०५८ मा म्हैपी मन्दिर र वन क्षेत्रको संरक्षणका लागि स्थापना भएको समितिले हाल म्हैपी मन्दिरलाई नमूना मन्दिरका रुपमा विकास गर्न विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ ।