• गृहपृष्ठ
  • राष्ट्रिय महिला भलिबल न्यू डाइएमण्डद्वारा पुलिस पराजित

राष्ट्रिय महिला भलिबल न्यू डाइएमण्डद्वारा पुलिस पराजित

Jan 10th, 2020

काठमाडौँ, २५ पुस (रासस)

न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकाल्यो ।

समूह चरणको अन्तिम खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको विजेता टोलीले रु चार लाख १०१ तथा उपविजेताले रु तीन लाख १०१ प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पाउनेछन् भने व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही रु सात हजार १०१ प्राप्त गर्नेछन् ।