• गृहपृष्ठ
  • विमानको ‘ब्लाक बक्स’ बिग्रिएको इरानको प्रारम्भिक रिपोर्ट

विमानको ‘ब्लाक बक्स’ बिग्रिएको इरानको प्रारम्भिक रिपोर्ट

Jan 10th, 2020

तेहरान, २५ पुस (रासस/सिन्ह्वा)

इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेमा प्रारम्भिक रिपोर्ट बिहीबार जारी गरेको छ ।

इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेहले भन्नुभयो, “विमानको ‘ब्लाक बक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिनेगरी नै क्षति भएको पाइएको पनि देखिन्छ ।”

विमान दुर्घटनापूर्व विमान चालकबाट कुनै पनि ‘असामान्य अवस्था’ को रेडियो सन्देश प्राप्त नभएको प्रारम्भिक अनुसन्धानपछि थाहा भएको इरानी अधिकारीले बताएका छन् ।

इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा मूल्याङ्कनका लागि आमन्त्रित पनि गरेको स्थानीय सञ्चारमाध्यमले आबेदजादेहलाई उद्धृत गरी लेखेका छन् ।

इरानी प्रतिवेदनमा बुधवार विमान आठ हजार फिटमाथि आकाशमा रहेका समय विमानले राडारसँगको सम्पर्क गुमाएको र त्यसको केही छिनमा नै दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ ।

विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको प्रत्यक्षदर्शी स्थानीयले बताएका अबेद्जादेहले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । विमान दुर्घटनास्थललाई हेर्दा चालकले विमानमा समस्या देखेपछि उनले विमानको दिशा बदल्दै र एयरपोर्टतर्फ फर्किएको अनुमान, अधिकारीले गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रा गरिरहेका समय बुधबार विमान दुर्घटनाग्रस्त भएको थियो ।