• गृहपृष्ठ
  • आलेखः लुम्बिनीदेखि बर्दिया पुगौँ एकैसाथ

आलेखः लुम्बिनीदेखि बर्दिया पुगौँ एकैसाथ

Jan 9th, 2020

नरेश के.सी. लुम्बिनी, २४ पुस (रासस)

नेपाल भ्रमण आएका एक हुल पर्यटकलाई ट्राभल्स व्यवसायीको संस्था सोट्टो नेपालले सीमामा स्वागत गर्दा उनीहरु दङ्ग परे । पाल्पाली ढाका टोपी लगाएर स्वागत गर्दा उनीहरुमा खुशीको सीमा थिएन । एकाएक सबैले ‘वेलकम इन नेपाल’ भनेर हातहातमा फूलका थुँगा दिँदा भारत हुँदै नेपाल प्रवेश गरेका पर्यटकहरु खुशीले गद्गद् भए । “सत्र जना थाई पर्यटकहरु र पाँच जना भारतीय पर्यटकहरुलाई हामीले सीमामा स्वागत ग¥र्यौँँ । थाईहरु लुम्बिनी र भारतीयहरु पाल्पा घुम्न आउनुभएको रहेछ ”, सोट्टो नेपाल प्रदेश समितिक वरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ताले बताउनुभयो ।

बेलहिया नाका हुँदै दैनिक सयौंँ पर्यटक नेपाल भित्रिरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या विगतमा भन्दा दोब्बर हुने विश्वास यस क्षेत्रका जानकारले राखेका छन् । अहिले प्रदेश नं ५ को सरकारको अभियानका रुपमा लुम्बिनी भ्रमण वर्ष २०७६ पनि चलिरहेको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार सन् २०१९ मा एक लाख ६१ हजार ६९१ विदेशी पर्यटक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन् । स्थलमार्ग हुँदै बेलहिया सीमाबाट प्रवेश गर्नेहरु अधिकांश लुम्बिनी घुम्ने उद्देश्यले आएको खनालले बताउनुभयो । उहांँले भन्नुभयो, “राहदानी सहित नेपाल प्रवेश गरेकाहरु सबैभन्दा बढी श्रीलङ्का, म्यानमा, थाई, भियतनामी देखिन्छन् । बुद्धिस्ट धर्म मान्ने उक्त देशबाट आएका पर्यटकको मुख्य गन्तव्य लुम्बिनी नै हो ।”

बौद्धधर्मावलम्बी देशबाट आएका पर्यटक लुम्बिनी, भारतीयहरु प्रायः काठमाडौँ, स्वर्गद्वारी, सौराहा, पाल्पा तथा जर्मन र सिङ्गापुरका जनता पाल्पा र पोखरा जाने उद्देश्यले नेपाल आउने गरेको बेलहियामा डेढ दशकदेखि ट्राभल्स व्यवसाय गर्दै आउनुभएका व्यवसायी गुप्ताले बताउनुभयो । नेपाल भ्रमण वर्षले पर्यटन व्यवसायमा ठूलो सकारात्मक सङ्केत देखिएको पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले बताउनुभयो । उहांँले भन्नुभयो, “फेबु्रअरी ११ मा ८५५ जना भारतीयहरु नेपाल भ्रमणका लागि आउँदैछन् । उनीहरुका लागि हामीले प्याकेजसहित बुक गरिसकेका छौंँ । उनीहरु लुम्बिनी हुँदै प्रदेश नं ५ का विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गर्दैछन् ।”

‘घुम्न जाउँ बर्दिया’ भन्ने मूल नाराका साथ प्रदेश नं ५ मा नेपाल भ्रमण वर्षको शुभारम्भ मुख्यमन्त्री शङ्कर पोखरेलले बर्दियाको ठाकुरद्वारामा आयोजित एक कार्यक्रमबाट जनवरी १ तारिख (पुस १६ गते ) गरिसक्नुभएको छ । भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितीले आयोजना गरेको उक्त कार्यक्रमको शुभारम्भसँगै प्रदेश नं ५ मा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास पनि प्रदेश सरकारले राखेको छ ।

प्रदेश नं ५ अन्तर्गतका १२ जिल्लामा घुम्नलायक मुख्य मुख्य गन्तव्य सयौंँ छन् । सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक महत्वका पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्ने उद्देश्यले यस प्रदेशमा विदेशी पर्यटक आउने गर्छन् । सङ्घीय सरकारले सन् २०२० का अवधिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित कार्यक्रम घोषणा गरेको भए तापनि नेपाल भित्रिने पर्यटकमध्ये पचास प्रतिशत पर्यटक प्रदेश नम्बर ५ का विभिन्न स्थलको अवलोकनमा आउने विश्वास प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ भौगोलिक, सास्कृतिक, ऐतिहासिक, जातीय, धार्मिक र प्राकृतिक हिसाबले विविधतायुक्त प्रदेश हो । नेपाल भ्रमण वर्ष प्रदेशस्तरीय समितिका सहसंयोजक माधव नेपालले भन्नुभयो, “ मिनी नेपालको रुपमा रहेको प्रदेश ५ मा आउने पर्यटकको सङ्ख्या सन् २०२० को अवधिमा १० लाखभन्दा बढी हुने छ ।”

पर्यटनको मुख्य केन्द्र मानिने प्रदेश नं ५ मा शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि सिस्ने हिमाल, गौमुखीदेखि चिसापानीसम्मका मुख्य पर्यटकीय गन्तव्य पर्छन् । बाह्र जिल्लाका मुख्य गन्तव्य नै फरक फरक महत्व र आकर्षणको केन्द्र देखिएका छन् । पर्यटन व्यवसायीले प्रदेशका १२ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्य समेटेर प्याकेज बनाएको नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर्स ९नाट्टा० प्रदेश ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार नेपाल भ्रमण वर्षले स्थापित पर्यटकीय गन्तव्य र नयां पर्यटकीय गन्तव्य दुवै मिलाएर नाट्टाले विभिन्न प्याकेज बनाएको छ । उहांँले भन्नुभयो , “हामीले लुम्बिनी, कपिलवस्तुु, स्वर्गद्वारी हुँदै बाँके, बर्दियासम्मको एउटा प्याकेज, रुकुम, रोल्पा, दाङ हुँदै प्युठानसम्म अर्को प्याकेज, पाल्पा, गुल्मी, अर्घाखाँचीको अर्को अलग प्याकेज तथा नवलपरासी, रुपन्देही र कपिलवस्तुको बुद्धसर्किटको अलग्गै प्याकेज बनाएका छौंँ ।”

पर्यटनविद् प्रा डा गितु गिरीका सैनामैना क्षेत्र, बुटवलको सिद्धबाबा र रामापिथेकश, गजेडीको दानापुर ताल, विष्णुपुराको गैडहवा ताल, गजेडीको लौसा ताल, फायरलाइनको लुम्बिनी साझेदारी वन, देवदहको पोखरी र छपियाको मत्स्यक्षेत्र रुपन्देहीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यसैगरी नवलपरासीमा सिद्धार्थ गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप, पाल्ही भगवती मन्दिर, दाउन्ने, त्रिवेणीघाट, नवलपरासी मनरीको कोलवृक्ष, भ्रमहीखोलाको नजीक रहेको बर्दगरिया, छिपागढको बडगाmँ, हरपुरको गोबरकोट, गजेन्द्रमोक्षधाम र केवलानीदेवी मुख्य पर्यटकीय गन्तव्य रहेको प्रा डा गिरी बताउनुहुन्छ ।

शाक्यवंशको ऐतिहासिक पुरानो राजधानी कपिलवस्तु, जहाँ युवराज सिद्धार्थले २९ वर्ष बिताएका थिए, का अतिरिक्त कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, मानवनिर्मित सबैभन्दा ठूलो ताल जगदीशपुर ताल र शिवगढी तथा त्यहांँ आउने साइबेरियाली चराको अवलोकन महत्वपूर्ण छ ।

हिल स्टेशनका रुपले समेत परिचित पाल्पा जिल्ला प्रकृति र धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण स्थल भएको पाल्पा पर्यटन प्रबद्र्धन विकास समितिका सदस्य दलबहादुर गुरुङले बताउनुभयो । उहांँले भन्नुभयो, “पाल्पाको बल्डेङ्गढी, रानीमहल, रुरु क्षेत्र, रिडी , श्रीनगर भ्यूटावर, नुवाकोट, अमरनारायण मन्दिर, झ्याङ्ग्ला गाउँ, जन्तीलुङ भगवतीस्थल, सुकेताल, सिर्जना फार्म, राम्दीघाट, केलादी, सत्यवती दशैँ बिदामा घुम्नलायक थलो हुन् ।” पर्यटनविद् प्रा डा गिरीका अनुसार भ्रमण वर्ष २०२० का गुल्मीको रेसुङ्गा, अर्जुनको डाँडो, मुसीकोट, धुर्कोट गुफा, सिरसेनी, रुपाकोट, भाडागाउँको सुन्तला खेती, वामीको त्रिपुरासुन्दरी मन्दिर, हर्दिनेटाको छत्रेश्वर, चारपाला दरबार, रिडीबजार, रुद्रवेणी र रिडी घुम्नलायक ठाउँ हुन् । यसैगरी अर्घाखाँचीका पणेना, सुपा, नरपानी, सन्धिखर्क, घेरालेक, नरसिंहस्थान पनि महत्वपूर्ण गन्तव्य हुन् ।

यता पश्चिम उत्तरमा रहेको प्युठान जिल्लाको स्वर्गद्वारी र गौमुखी धार्मिक दृष्टिले महत्वपूर्ण गन्तव्य हुन् । यसैगरी भित्रीकोट, सौतामारे र सरुमारानी पनि आकर्षक पर्यटकीय गन्तव्य हुन् । पूजाको तामाखानी, खुङको गुफा र खरा अर्खाको धुरी पनि हेर्नलायक ठाउँ हुन् । रोल्पा जिल्लाको ३ हजार एक सय मिटर अग्लो जलजला पहाड, होलेरी, थबांग, खुंग्री , रुन्टीगढी, भामा ओडार, यहांका मुख्य पर्यटकीय गन्तव्य हुन् । यसैगरी रुकुमको सिस्ने हिमालदेखि गुरिल्ला ट्रेक मुख्य पर्यटकीय गन्तब्य हुन् । प्रदेश नम्बर ५ को सबैभन्दा अग्लो हिमाल सिस्ने हिमाल रुकुममा पर्दछ ।

‘घुम्न जाऔँ बर्दिया’ भन्ने नाराका साथ प्रदेश नं ५ मा सञ्चालित नेपाल भ्रमण बर्ष २०२० को अर्को गन्तव्यस्थल बर्दिया हो । प्रदेश नं ५ को सुदूर पश्चिमको जिल्ला बर्दियामा चिसापानी पुल, राष्ट्रिय निकुञ्ज, गोही, गँैडा, जङ्गली हात्ती, बाघ, वन्यजन्तु, चराचुरुङ्गी, ठाकुरद्वारा र कृष्णसार अवलोकन गर्न पाइन्छ । यसैगरी दाङ्गको देउखुरी उपत्यका, बाह्रकुने दह, पुरुनधरा झरना, चमेली गुफा, जखेरा ताल, भारपानी, तरुनी दह आदिका लागि प्रसिद्ध छ । यसका अतिरिक्त राप्ती नदीको अवलोकन, दाङ देउखुरीको खेती पनि हेर्न लायकस्थल हुन् ।

प्रदेश नं ५ को अर्को जिल्ला बाँकेका बाँके राष्ट्रिय निकुञ्ज, सङ्कटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा, बागेश्वरी मन्दिर, जुँगेश्वर महादेवको मन्दिर, महेन्द्रपार्क, रानी तलाउ, वाटर पार्क, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा आदि पर्यटकका लागि गन्तव्यस्थल हुन् ।

मिनी नेपालका रुपमा रहेको प्रदेश नं ५ पर्यटनका लागि महत्वपूर्ण गन्तव्यस्थल रहेको पर्यटन व्यवसायी रचना पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “ यस प्रदेशमा आउने कुनै पनि पर्यटक निराश भएर फर्कँदैन । यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्वको अवलोकन र भ्रमणले उनीहरु प्रफुल्ल हुन्छन् । थोरै बजेटले धेरै ठाउँ अवलोकन गर्न सकिन्छ ।”