• गृहपृष्ठ
  • अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी – राष्ट्रपति ट्रम्प

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी – राष्ट्रपति ट्रम्प

Jan 9th, 2020

वासिङ्टन,२४ पुस (रासस/एएफपी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ ।

यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिनुभएको हो । राष्ट्रपति ट्रम्पले गएराति सो जानकारी दिनुभएको हो । उहाँले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गएराति सार्वजनिक सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्षति नभएको बताउनुभयो । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो हमला गरेको थियो ।
इराकी अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले बुधवार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो ।

राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा रहेका बेला गएराति सो सम्बोधन गर्नुभएको हो । आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यो आक्रमणबाट इरान नै तल परेको बताउनुभयो । उहाँले मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताउनुभयो । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताउनुभयो ।

उहाँले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताउनुभयो । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गर्नुभयो । इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उहाँको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताउनुभयो ।

उहाँले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने समेत बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गर्नुभयो । इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको पनि बताउनुभयो ।