• गृहपृष्ठ
  • प्रजातान्त्रिक योद्धा सधैँ स्मरणीय : उपसभापति निधि

प्रजातान्त्रिक योद्धा सधैँ स्मरणीय : उपसभापति निधि

Jan 9th, 2020

महोत्तरी, २४ पुस (रासस)

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकले प्राप्त गरेको राजनीतिक परिवर्तनभित्र प्रजातान्त्रिक आन्दोलनका योद्धा सधैँ स्मरणीय रहने बताउनुभएको छ । महोत्तरीको मनराशिशवा नगरपालिका–१० बथनाहामा बुधवार नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा ललनकुमार रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै उपसभापति निधिले प्रजातन्त्रका लागि लडेका योद्धा सधैँ स्मरणीय रहने बताउनुभएको हो ।

उहाँको पैतृकस्थल बथनाहामा हिन्दू वैदिक परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । रायको अन्त्यष्टिमा सरिक हुनुभएका उपसभापति निधिले पार्टीका सभापति शेरबहादुर देउवाको तर्फबाट शोकाकुल परिवारजनलाई समवेदना र सान्त्वना जनाउनुभएको थियो ।

रायको अन्त्यष्टिमा जिल्लाका सबजसो राजनीतिक दलका नेता र कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । काठमाडौँबाट घर फर्कने क्रममा राय चढ्नुभएको ना५ख ६४११ नंको बसले मङ्गलबार बिहान महोत्तरीको टुटेश्वरचोकमा रोकिराखेको ना४ख ९८१३ नंको ट्रकलाई ठक्कर दिँदा घाइते हुनुभएका रायको उपचारको क्रममा विराटनगरमा निधन भएको थियो ।

विद्यार्थीकालदेखि नै नेपाली काँग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका राय कैयौँपटक जेल पर्नुभएको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा महोत्तरी–४ बाट राय नेकाको उम्मेदवार हुनुहुन्थ्यो । यसअघि २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सदस्य रहनुभएका ५७ वर्षीय राय हाल काँग्रेसको महासमिति सदस्य हुनुहुन्थ्यो । रायको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला इञ्चार्ज राजु खड्का र नेका जिल्ला सभापति महेन्द्रकुमार रायले शोक वक्तव्य जारी गर्दै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा रायको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ ।