मापदण्ड विपरीत पशु ढुवानी

Jan 8th, 2020

वीरगञ्ज, २३ पुस (रासस)

सर्वोच्च अदालतले यही मङ्सिर ७ गते पशु ढुवानी गर्दा क्रूर, निर्दयी व्यवहार तथा यातना हुन नदिन निर्देशन जारी गरेपनि व्यापारीहरुले सो निर्देशनको उल्लङ्घन गर्दै आइरहेको यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आरोप लगाएका छन् । वक्ताहरुले पशु ढुवानीलाई व्यवस्थित गर्न नेपाल सरकारद्वारा जारी गरिएको ऐन तथा मापदण्डलाई व्यवहारमा नल्याउँदा पशुप्रति क्रूर व्यवहार यथावत् रहेकाले पशु ढुवानीकर्तालाई पशु सेवा ऐनअन्तर्गत कारवाही गर्नुपर्ने माग गरेका छन् ।

पशु कवारेन्टाइन कार्यालय वीरगञ्जको सहजीकरणमा पशु तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जितपुरमा आयोजित पशु ढुवानी मापदण्ड कार्यान्वयनसम्बन्धी सुरक्षाकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा व्यापारी तथा व्यवसायीहरुले पशुप्रति गरिने निर्दयी व्यवहारलाई कसरी रोक्न सकिन्छ भन्नेबारे छलफल गर्नुभएको थियो ।

पशुप्रति गरिने निर्दयी व्यवहारबारे कार्यपत्र प्रस्तुत गर्दै पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा हरेराम यादवले मुलुकी आचारसंहिता २०७४, पशु ढुवानी मापदण्ड २०६४, पशु कल्याण निर्देशिका २०७४ तथा सर्वोच्च अदालतले जारी गरेको निर्देशिकामा पशु ढुवानी गर्दा चक्कु, कोर्रा, बञ्चरो, पासो, विद्युतीय करेन्ट, खुर्सानीको धुलो लगाउन बन्देज गरे पनि व्याापारका नाममा मापदण्ड विपरीत पशु ढुवानी हुने गरेको बताउनुभयो ।

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले पशु ढुवानीसम्बन्धी ऐन कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा यस्तो अवस्था आएकाले यसलाई व्यवस्थित गर्ने बजार अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा हरेराम यादवको सभापतित्वमा भएको कार्यक्रममा पशुपन्छी व्यवसायी सङ्घ बाराका अध्यक्ष आत्माराम पौडेल, कुखुरा व्यवसायी सङ्घ बाराका अध्यक्ष गोविन्द पौडेललगायतका वक्ताले हप्तामा दुई दिन लाग्ने जितपुर बजारका पशु हाटबजारमा राँगा, भैँसी किन्ने आउने व्यापारीहरुले क्षमताभन्दा बढी राँगा, भैँसी लोड गर्ने, जथाभावी बाँधेर निर्दयी व्यवहार गर्ने गरेकाले सम्बन्धित निकायले यससम्बन्धी कानून कडा रुपमा लागू गर्नुपर्ने सुझाव दिएका छन् ।.