विपद् व्यवस्थापनमा चीनले सघाउने

Jan 8th, 2020

भक्तपुर, २३ पुस (रासस)

चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापनमा चीनले सघाउने भएको छ । आज चाँगुनारायण नगरपालिका र चीनको सरकारी टोलीबीच भएको द्विपक्षीय छलफलमा चाँगुनारायणको विपद् व्यवस्थापनमा चीनले सघाउने प्रतिबद्धता जनाएको हो ।

नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बीना बाँस्तोला, प्रशासकीय प्रमुख चिरिञ्जीवी तिम्सिेनालगायत नगरपालिकाको टोली र चीन सरकारको पब्लिक मेट्रोलोजी सर्भिस सेन्टरका उपनिर्देशक चेन युन छेङ्गको नेतृत्वमा आएको सातजना चिनियाँ टोलीबीच भएको छलफलमा विपद् व्यवस्थापनमा चाँगुनारायण नगरपालिकालाई आवश्यक सहयोग गर्न चीन तत्पर रहेको चिनियाँ टोलीका प्रमुख एवं पब्लिक मेट्रोलोजी सर्भिस सेन्टरका उपनिर्देशक चेन युन छेङ्गले बताउनुभयो ।

उहाँले नेपालको केन्द्रीय सरकारमार्फत जलवायु परिवर्तन, मौसम र विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्ने तत्पर रहेको बताउँदै चाँगुनारायणको आवश्यकलाई ध्यानमा राखेर सहयोगको खाका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चिनियाँ टोलीले चाँगुनारायण नगरपालिकाले जलवायु परिवर्तन, मौसमको अवस्थामा जानकारी दिन र विपद् व्यवस्थापनको क्षेत्रमा कस्तो काम गरिरहेको छ र यहाँ के के समस्या छन् भन्नेबारे चासो व्यक्त गरेको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्रले चाँगुनारायणको भूबनोट, जोखिमका क्षेत्रहरु, विपद् व्यवस्थापनमा नगरपालिकाले खेलेको भूमिका र आवश्यक तयारीबारे जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकाले चीनसँग साझेदारी गरेर विपद् व्यवस्थापन र मौसमको क्षेत्रमा काम गर्न चाहेको बताउनु भएको थियो ।