• गृहपृष्ठ
  • परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता

परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता

Jan 8th, 2020

काठमाडौ, पुुस २३

नेपालका लागि संयुक्तअधिराज्य बेलायत राजदूत महामहिम निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच पुस २३ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा महामहिम निकोल पोलिटको स्वागत गर्नु हुँदै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल संयुक्त अधिराज्यबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताउनु भयो ।

संयुक्त अधिराज्य बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नु भयो । उत्पादनमुलक क्षेत्र, वित्तिय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्ष मोरले निकोल पोलिटको ध्यानाकर्षण गराउनु भयो ।

सो अवसरमा राजदूत निकोल पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताउनु भयो । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत पोलिटले उल्लेख गरे । भेटवार्तामा परिसंघको अन्तर्राष्ट्रिय समितिका संयोजक राजबहादुर शाहले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न बेलायती लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत पोलिट समक्ष आग्रह गरे । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत बेलायती लगानी कर्ताका लागि उपयुक्त समय आएको शाहले उल्लेख गरे । सो अवससरमा परिसंघ सचिवालय तथा बेलायती दूतावासका अधिकारीहरुको पनि उपस्थिति थियो ।