• गृहपृष्ठ
  • खाडीमा कार्यरत नेपाली श्रमिक समस्यामा परे सरकार तत्काल उद्धार गर्न तयार: श्रममन्त्री यादव

खाडीमा कार्यरत नेपाली श्रमिक समस्यामा परे सरकार तत्काल उद्धार गर्न तयार: श्रममन्त्री यादव

Jan 7th, 2020

काठमाडौँ, २२ पुस (रासस)

सरकारले अमेरिका–इरान तनावका कारण खाडीका मुलुकमा कार्यरत नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट नियालिरहेको र केही समस्या देखिए तत्कालै समाधान खोजिने बताउनुभयो । “खाडीमा रहेको नेपाली श्रमिक समस्यामा परे पूरै सरकार उद्धारमा केन्द्रित हुनेछ”, उहाँले भन्नुभयो ।

मध्यपूर्वी क्षेत्रमा तनाव देखिने बित्तिकै आफूले पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उहाँले परराष्ट्रमार्फत सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह गरिएको बताउनुभयो । “मध्यपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिवस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको छौँ, अप्ठयारो अवस्था आए कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुङ्गोमा पुग्नेछौँ”, उहाँले भन्नुभयो ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृहलगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । श्रम र परराष्ट्र सचिवस्तरमा पनि नियमित संवाद भइरहेको उहाँको भनाइ थियो ।

खाडीका मुलुकमध्ये साउदीमा करिब चार लाख र कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत छन् । यस्तै यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका बताइएको छ ।