• गृहपृष्ठ
  • सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ४० को मृत्यु

सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ४० को मृत्यु

Jan 7th, 2020

केरमान, इरान, २२ पुस (रासस/एएफपी)

इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मङ्गलबार मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ ।

टेलिभिजनले दिएको प्रारम्भिक सूचनामा कम्तीमा ३२ जनाको मृत्यु भएको बताइएको थियो तर पछि उक्त सङ्ख्या बढेको बताइएको छ ।

“दुर्भाग्यवस, शवयात्राका क्रममा अत्यधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्,” इरानको आपतकालिन सेवा प्रमुख पिरहोसेन कुलिभण्डले उक्त टेलिभिजन च्यानललाई बताउनुभयो ।

उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।

कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गाडर््सका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको को सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए ।

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका उक्त सरकारी टेलिभिजनबाट प्रसारण गरिएका श्रव्यदृष्यमा देखाइएको थियो ।

इरानी जनताबीच गाडर््सको क्विद बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानीलाई इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएको थियो । सुलेमानीको मृत्युले इरान शोकमा डुबेको छ भने अमेरिकी आक्रमणको बदला लिने इरानी अधिकारीले बताइसकेका छन् ।

इरानको राजधानी तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादका सहरहरूमा सुलेमानको मृत्युपछि शोक जुलुस (शवयात्रा) निकालिएको थियो भने मङ्गलबार अपरान्ह् केरमानमा इस्लाम धर्मअनुसार उहाँको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको बताइएको छ ।