सिरी एमा रोनाल्डोको पहिलो ह्याट्रिक

Jan 7th, 2020

काठमाडौँ, पुस २२

इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गरेका छन् । लिग अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले काग्लिएरीलाई ४–० ले पराजित गर्ने क्रममा रोनाल्डोले ह्याट्रिक गरेका हुन्। त्यसैगरी चौथो गोल भने गोन्जालो हेगुइनले गरेका थिए।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित रहे पनि  युभेन्टसले दोस्रो हाफमा चार गोल गरेको हो । रोनाल्डोले  खेलको ४९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे ।

८१ औँ मिनेटमा हेगुइनले गोल गरेपछि युभेन्टसको अग्रता ३–० मा पुग्यो । त्यसको एक मिनेटपछि नै रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे र युभेन्टस ४–० ले विजयी भयो । हेगुइनले गरेको गोलमा पनि
रोनाल्डोलेनै पास मिलाएका हुन् ।


जीतपछि केही बेरका लागि युभन्टेस लिगको शीर्ष स्थानमा पुगे पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो ।