• गृहपृष्ठ
  • भारतीय विदेशमन्त्रीद्वारा अमेरिकासहित विभिन्न देशका समकक्षीसँग फोनवार्ता

भारतीय विदेशमन्त्रीद्वारा अमेरिकासहित विभिन्न देशका समकक्षीसँग फोनवार्ता

Jan 6th, 2020

नयाँ दिल्ली,२१ पुस (रासस/सिन्ह्वा)

भारतका विदेशमन्त्री एस जयशंकरले खाडी क्षेत्रमा हालै शुरु भएको खाडी क्षेत्रको तनावका विषयलाई लिएर अमेरिकालगायतका आफ्ना केही देशका समकक्षीसँग वार्ता गर्नुभएको छ ।

विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, संयुक्त अरब इमिरेट्स ९यूएई० का शेख अब्दुल्लाह बिन जायद अल नयन र ओमानका परराष्ट्र मन्त्री युशुफ बिन अलादी बिन अब्दुल्लाहसँग आइतबार फोनवार्ता गर्नु भएको जनाइएको छ ।

उहाँले आइतबार राति पछिल्लो समयमा खाडी मुलुकमा विकास भएको अवस्थालाई लिएर अमेरिका, युएई र ओमनका विदेशमन्त्रीहरुसँग फोनवार्ता भएको कुरा आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराउनुभएको छ ।

पछिल्लो समयमा अमेरिका र इरानबीच तनाव बढेको छ । यस विषयमा के कसरी अघि बढ्ने भन्ने बारेमा उहाँहरुबीच फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

उहाँले युएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद र ओमानका परराष्ट्रमन्त्री युशुफ बिन अलावी बिन अब्दुल्लाहसँग इरानमा विकसित परिस्थितिका बारेमा केन्द्रित रहेर कुराकानी गरेको जानकारी गराउनुभएको छ ।

वार्ताका क्रममा खाडी क्षेत्रमा विकसित घटनाक्रमका बारेमा आ–आफ्ना धारणा आदानप्रदान भएको जानकारी गराउनुभएको छ ।

त्यसक्रममा विदेशमन्त्री जयशंकरले खाडी क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षाका विषयमा भारतको चासो रहेको उहाँहरुलाई बताउनुभएको थियो ।

यसअघि विदेशमन्त्री जयशंकरले इरानी समकक्ष मोहम्मद जावेद जरीफसँग पनि फोनवार्ता गरी खाडीमा व्याप्त तनावको अवस्थालाई कम गर्न इरानले मुख्य भूमिका खेल्न सक्ने बताउनुभएको थियो ।

इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव उत्पन्न गरिदिएको बताइएको छ ।

शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए ।

यसका कारण अमेरिका र खाडी देशका बीचको तनाव थप बढेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् ।

अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके बताउँदै आएको सुलेमानी अमेरिकी सेनाको कारबाहीमा मारिएपछि इरानले अमेरिकासँग बदला लिने धम्की दिएको छ ।

तर उत्तेजक नहुन र संयमता अपनाउन विभिन्न देशले इरानलाई आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले पनि आलोचना गरेका छन् । तर यूरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।

बग्दादमा भएको यस आक्रमणले खाडी क्षेत्रमा हाल जारी रहेको तनावलाई थप बढाउने आशङ्का विश्व समुदायले गरेको छ । उता अमेरिकाले पनि यदि इरानले आफ्नो क्षेत्र तथा अमेरिकी नागरिकमाथि हमला गरेमा इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको बताएको छ ।

यसै विषयमा यतिखेर विश्व समुदाय चिन्तत रहेको र विदेशी समुदायले पनि आ–आफ्ना क्षेत्र र समकक्षीहरुसँग आपसमा वार्ता गरी खाडीको तनावलाई कसरी कम गर्ने भन्ने बारेमा परामर्श गरिरहेका बताइएको छ ।