• गृहपृष्ठ
  • क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री मिलानोभिक निर्वाचित

Jan 6th, 2020

जाग्रेब, २१ पुस (रासस/सिन्ह्वा)

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित हुनुभएको छ । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उहाँ निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उहाँ निर्वाचित भएको बताएका हुन् ।

आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाउनु भएको छ ।
पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित हुनुभएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो । उहाँसँग प्रतिश्पर्धा गर्नुभएकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड)को समर्थन रहेको थियो ।

मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । क्रोएसियामा हरेक पाँच पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ ।

आइतबार राती राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि नवनिर्वाचित राष्ट्रपति मिलानोभिकले सवै नागरिकको आवाज सुन्ने र सवैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
निर्वाचनमा पराजित भएकी ग्राबरले पनि निर्वाचित मिलानोभिकलाई बधाई दिनु भएको थियो । नवनिर्वाचित राष्ट्रपति मिलानोभिक ५३ बर्षको हुनुहुन्छ भने सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म प्रधानमन्त्री हुनु भएको थियो ।