• गृहपृष्ठ
  • नेपालको सबैभन्दा ठूलो पुरस्कार रहेको फोटो प्रतियोगिताको घोषणा

नेपालको सबैभन्दा ठूलो पुरस्कार रहेको फोटो प्रतियोगिताको घोषणा

Jan 6th, 2020

काठमाडौ, पुुस २१

फोटो जर्नलिस्ट क्लब, नेपालले विगत ७ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले पुस २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी नेपाल फोटो कन्टेष्ट २०७६ को घोषणा गरेको हो ।

ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।
विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आईतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेभसाइट डब्लुु डब्लुु डट पिजे क्लव डट कम डट एनपी मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ । आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ गते २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ ।

कार्यक्रममा सबै अतिथिलाई फोटो पत्रकार क्लब नेपालकी महासचिव श्रुती श्रेष्ठले स्वागत गरेकी थिइन् । फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक नेपाल ल्याण्ड अफ कन्ट्राष्ट भि पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमका अतिथि ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापा, मनराम ग्रुपका संरक्षक श्रीमती मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष विकास कार्कीले नेपाल ल्याण्ड अफ कन्ट्राष्ट भि फोटो पुस्तकको लोकार्पण गरेका थिए अतिथिहरूको स्वागत गर्दै डिस मिडियाका उप–महाप्रवन्धक सञ्जय राजभण्डारीले फोटो जर्नलिस्ट क्लबले आयोजना गर्दै आएको फोटो प्रतियोगितामा सहकार्य गर्न पाउनु गर्वको विषय रहेको र यस्ता कार्यमा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रवन्धक सुरज राजवाहकले ५ वर्षदेखि कम्पनीले फोटो प्रतियोगिता आयोजनामा फोटो जर्नलिस्ट क्लबसँग सहकार्य गरिरहेको बताए । उनले यसपल्टको फोटो प्रतियोगिताको सफलताका लागि क्लबलाई शुभकामनासमेत दिएका थिए ।
त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले स्थापनाको छोटो समयमा नै क्लबले ठोस उपलब्धि हासिल गरेको उल्लेख गरे । ‘यो फोटो जर्नलिस्ट क्लबको अवधारणा एउटा सानो कोठामा भएको थियो,’ उनले भने, ‘तर यसले स्थापनाको यति छोटो समयमै पाएको उपलब्धि निकै गौरवशाली छ ।’ उनले फोटो जर्नलिस्ट क्लबको आयोजनामा हुने फोटो प्रतियोगिताको तुलना साहित्य विधाको मदन पुरस्कार जत्तिकै भएको उल्लेख गरे । चित्रकारले यो प्रतियोगिता फोटो विधाका लागि मदन पुरस्कार जत्तिकै भएको उल्लेख गर्दै फोटो पत्रकारका लागि यसमा विजयी हुनु मदन पुरस्कार जितेसरह नै भएको बताए ।

कार्यक्रमका अर्का वक्ता पर्यटन बोर्डका कामु निमित्त निर्देशक श्री विमल कँडेलले क्लबको फोटो प्रतियोगिताजस्तो कार्यक्रममा पर्यटन बोर्ड जोडिन पाउँदा खुसी लागेको बताए । उनले यस्ता फोटो प्रतियोगिताले बोर्डलाई स्ट्राटेजिक टुरिज्म प्लेटफर्मका लागि सहयोग पुग्नेसमेत उल्लेख गरे । उनले वन्यजन्तु, पर्वतीय फोटो प्रदर्शनी तथा थाई र चिनियाँ फोटोग्राफरका फोटो प्रदर्शनी आयोजना गर्दै आएको जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक रमेश थापाले केही वर्षयता कम्पनीले क्लबलाई प्रतियोगिता आयोजना र प्रवद्र्धनमा सघाउँदै आएको र क्लबका यस्ता अन्य कार्यक्रममा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापना भएको सानो अवधिमा नै क्लबले लिएको उचाइ तथा उपलब्धिको प्रशंसा गर्दै क्लबले गरेका कामहरू उदाहरणीय रहेको बताए । उनले एउटा फोटोले हजारौं शब्दमा गरिने बयानभन्दा पनि राम्ररी भाव व्यक्त गर्ने भएकाले यो शाब्दिक व्याख्याभन्दा हजारौं गुणा प्रभावशाली हुने बताए । उनले विगत ५ वर्षदेखि ग्लोबल आइएमईले क्लबसँग सहकार्य गरिरहेको र आगामी दिनमा समेत क्लबसँग सहकार्य जारी राख्ने जानकारी दिँदै यसबाट सरकारको भिजिट नेपाल २०२० अभियानमा समेत सघाउ पुग्ने अपेक्षा रहेको भन्दै प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आइएमई समूहका प्रवन्ध निर्देशक तथा सह–संस्थापक हेमराज ढकाल, डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य र डिस मिडिया नेटवर्कका माकेर्टिङ उप–महाप्रवन्धक सञ्जय राजभण्डारीलगायत वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।