• गृहपृष्ठ
  • विदेशबाट कामदारले पठाउने पैसा घट्यो, कामदार भने बढे

विदेशबाट कामदारले पठाउने पैसा घट्यो, कामदार भने बढे

Jan 6th, 2020

काठमाडौ, पुष २१

स्वदेशमा उचित रोजगारीको अवसर नमिलेका कारण विदेश भासिएका नेपाली कामदारले नेपालमा पठाउने रकम गत वर्षको तुलनामा २.३ प्रतिशतले घटेको छ । यो वर्षको कात्तिक महिनासम्ममा जम्मा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैया नेपाल भित्रिएको छ ।

अघिल्लो वर्षको कात्तिक महिनामा भने ३६.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो ।

तर अन्तिम श्रम स्वीकृति का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कात्तिक महनिासम्ममा गत वर्षको सोहि अवधिको तुुलनमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरि पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति २.५ प्रतिशतले कमी आई ३ खर्ब ४४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.६ प्रतिशतले बढेको थियो ।

चालु खाता घाटा ३७ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड ८८ लाख रहेको छ ।

कात्तिक महिनासम्मा पुँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब २४ करोड रहेको थियो ।

त्यसैगरि शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा कात्तिक महिनासम्ममा २४ करोड ८ लाखले बचतमा रहेको छ ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई २०७६ कात्तिक मसान्तमा ११ खर्ब ३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा ९ अर्ब ६३ करोड पुगेको छ ।