• गृहपृष्ठ
  • अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

Jan 4th, 2020

लण्डन, १९ पुस (रासस/सिन्ह्वा)

सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ ।

बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उहाँलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।

क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर हुनुभएको हो भने पहिलो महिला चान्सलर हुनुभएको विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन् ।

संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ ।

चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उहाँको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।

क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा हुनुहुन्थ्यो । त्यसअघि उहाँ अमेरिकी विदेश मन्त्री पनि हुनुभएको थियो ।