• गृहपृष्ठ
  • विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन : राष्ट्रसंघ प्रमुख

विश्वले ‘अर्को खाडी युद्ध’ सहन सक्दैन : राष्ट्रसंघ प्रमुख

Jan 4th, 2020

संयुक्त राष्ट्रसंघ, १९ पुस (रासस/एएफपी)

अमेरिकाले इराकको राजधानी बग्दादको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै गरेको आक्रमणमा इरानी विशेष दस्ताका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघले खाडी क्षेत्रमा अर्को युद्ध धान्न नसकिने बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले इराकको राजधानीस्थित एक अन्तराष्ट्रिय विमानस्थल नजिकै अमेरिकाद्वारा गरिएको आक्रमणपछि त्यस क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै शुक्रबार चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन ।”

“राष्ट्रसंघका महासचिवले निरन्तर रूपमा खाडीमा भइरहेको तनावलाई कम गर्न निरन्तर पैरवी गरिरहनुभएको छ,” गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्नेछ । विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।”

संयुक्त राज्य अमेरिकाले शुक्रबार नै आफ्नो सेनाले कासिम सुलेमानीलाई मारेको घोषणा गरेको थियो ।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा रहँदै आएको र उक्त सुरक्षा बलले देश बाहिर गोप्य गतिविधिहरू गर्ने गरेको अमेरिकी दावी छ ।

जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेको पनि चर्चा हुने गरेको छ । उहाँले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा पनि लडेको अनुभव रहेको थियो ।