• गृहपृष्ठ
  • ‘बुद्धनगर वाग्मती करिडोर निर्माणलाई तीव्रता दिनुपर्ने’

‘बुद्धनगर वाग्मती करिडोर निर्माणलाई तीव्रता दिनुपर्ने’

Jan 4th, 2020

काठमाडौँ, १९ पुस (रासस)

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउन बुद्धनगर वाग्मती करिडोरको सडक निर्माणलाई तीव्रता दिनुपर्ने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव छविलाल पाण्डेको संयोजकत्वमा रहेको ‘क्विक रेस्पोन्स टिम’ले शुक्रबार वाग्मती करिडोर, हनुमन्ते करिडोर निर्माणलगायत कोटेश्वर चोकको ट्राफिक व्यवस्थापनका लागि गरेको अनुगमन तथा निरीक्षणका क्रममा बुद्धनगर वाग्मती करिडोरको मापदण्ड २० मिटर चौडा कायम गर्नुपर्ने बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि निर्माण भएको उक्त समितिले वाग्मती करिडोर शङ्खमूल खण्ड दोभानको खाल्डो तत्काल पुनुपर्ने, वाग्मती मनोहरा दोभानदेखि बालकुमारी पुलसम्मको करिडोर तत्काल स्तरोन्नति गर्नुपर्ने, बालकुमारी पुलबाट पूर्वहनुमन्ते दोभानसम्म निर्माणाधीन सडक शीघ्र पिच गर्नुपर्ने सुझाव दिएको छ ।

बिजुली बजार पुलको दक्षिणतर्फको करिडोर प्रवेशद्वारको स्तरोन्नति गर्नुपर्ने, धोवीखोला वागमती दोभानको पुलभन्दा उत्तरको पुरानो पुल भएको स्थानमा दुई लेनको पक्की पुल निर्माण गर्नुपर्ने सुझाव दिएको समितिका सदस्य सरोज सिटौलाले जानकारी दिनुभयो । हनुमन्ते करिडोर खण्डमा सिरुटारसम्म दक्षिणतर्फको करिडोर निर्माणलाई तीव्रता दिनुपर्ने, बालकुमारी पुलबाट पाटनतर्फ युएनपार्क जोड्ने करिडोर सडक च्यासल खेल मैदानदेखि शङ्खमूलपार्क सडकमा आकाशेपुल निर्माण गर्नुपर्ने, जडीबुटी पुल दक्षिणतर्फको करिडोरलाई कालोपत्र गर्नुपर्ने सुझाव दिएको छ ।

संयोजक पाण्डेसहित समितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाह, उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक शतिशकुमार पन्त, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, काठमाडौँ महानगरपालिकाका प्रहरी नायब उपरीक्षक धनपति सापकोटा, सडक विभागका इन्जिनीयर लक्ष्मीदत्त भट्ट, ट्राफिक महाशाखाका प्रहरी निरीक्षक शेरबहादुर चन्द र मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत कैलाश न्यौपाने सदस्य हुनुहुन्छ ।