• गृहपृष्ठ
  • मकवानपुरको ५० प्रतिशत विद्यालयको पिउने पानीमा कोलिफर्म

मकवानपुरको ५० प्रतिशत विद्यालयको पिउने पानीमा कोलिफर्म

Jan 4th, 2020

चुरियामाई, १९ पुस (रासस)

मकवानपुरको मनहरी गाउँपालिकास्थित ५० प्रतिशत विद्यालयको पिउने पानीमा कोलिफर्मको मात्रा अत्याधिक रहेको पाइएको छ । सो गाउँपालिकामा ३२ विद्यालय रहेका छन् ।

बालबालिकाले खाने गरेको पानी गाउँपालिकाले जाँच गराउँदा अधिकाँश विद्यालयमा कोलिफर्मको मात्रा अधिक रहेको पाइएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । बालमैत्री गाउँपालिका घोषणाको अन्तिम तयारीमा पुगेको अवस्थामा खानेपानी नै पिउन अयोग्य देखिएकाले समस्या भएको उहाँको भनाइ छ ।

बालमैत्री हुनका लागि पिउने पानी शुद्ध हुनुपर्ने र अब गाउँपालिकाले यस कार्यलाई अगाडि बढाउने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । जाँच गराउँदा १४ विद्यालयको पानी पिउनै नहुने पाइएको र आठ विद्यालयको पानी प्रशोधन गरेर पिउन मिल्ने पाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारीले बताउनुभयो । दश विद्यालयको पानी भने पिउन योग्य पाइएको उहाँको भनाइ छ ।

मनहरी गाउँपालिकालाई आगामी पुस २५ गते नोपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । बालमैत्री घोषणा गर्नुपूर्व ३९ वटा सूचक पार गरेको हुनुपर्छ । जसमध्ये विद्यालयमा सफा पिउने पानी सहज रुपमा उपलव्ध भएको हुनुपर्छ । सबै विद्यालयका बालबालिकाले पिउने पानीको नमूना सङ्कलन गरी गाउँपालिकाले ४८ घण्टा लगाएर परीक्षण गरेको थियो ।

विद्यालयमा रहेका सबैखाले शैक्षिक समस्या सुधार गर्नका लागि योजना बनाएर अगाडि बढ्ने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी पहिलो प्राथमिकताको विषय हो, सफा पिउने पानी नै उपलव्ध छैन भने हजारौँ बालबालिकाको स्वास्थ्यस्थितिमा गम्भीर संकट पर्नेछ, त्यसैले विद्यालयमा भौतिक पूर्वाधारको विकास गरी शैक्षिक प्रगति गर्दै लैजानेमा हाम्रो पहल हुनेछ ।”

गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका लागि अहिले द्रूत गतिमा काम गरिरहेको र गाउँपालिकाको यस अभियानमा सबैले सहयोग गर्नुपर्न अध्यक्ष उप्रेतीले बताउनुभयो । विद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिकास्तरमै विद्यालयको अनुगमन बढाइएको, पठनपाठनमा निगरानी गरिएको, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका प्रतिनिधिसँग गाउँपालिका तथा शिक्षा शाखाको समन्वयमा नियमितता दिइएको उहाँले जानकारी दिनुभयो ।