• गृहपृष्ठ
  • माथिल्लो तामाकोशीको सबस्टेशन निर्माणमा ढिलाइ

माथिल्लो तामाकोशीको सबस्टेशन निर्माणमा ढिलाइ

Jan 4th, 2020

–फुर्बा तामाङ
दोलखा, १९ पुस (रासस)

बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोड्ने सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडको जिम्मामा दिएको भएता पनि काम गर्न ढिला भएकाले माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न आवश्यक सबस्टेशन निर्माणमा ढिलाइ भएको छ ।

आयोजनाको हालसम्मको प्रगति गत वर्षदेखि करिब ९९ प्रतिशत भएको जनाएको छ । आयोजनाबाट विद्युत् उत्पादन हुनुभन्दा दुई महिना पहिले निर्माण सम्पन्न गरेको भए पनि परीक्षण यसको निर्माण नभएकोले ढिलाइ भएको हो । पेन स्टक पाइप लाइन जडान ढिला भएकाले आयोजना नै अगाडि बढ्न नसकेको माथिल्लो तामाकोशीको प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो ।

तल्लो खण्डअन्तर्गत ३७० मिटरमध्ये हालसम्म १७५ पेन स्टक पाइप जडान भएको छ । माथिल्लो खण्डअन्तर्गत ३१० मिटरमध्ये ७२ मिटरमात्रै जडान भएको इण्डीयन टेक्सना कमम्पनीले गरेको थियो भने तल्लोमा पेन स्टक पाइप जडान गर्ने जिम्मा इन्डीज हाइड्रो अस्ट्रीयाले ठेक्का पाएको थियो । यी दुई भारतीय कम्पनीका कारण माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन गर्ने समय डेढ वर्ष ढिला भइसकेको छ । यसबाट विद्युत् उत्पादनबाट हुने आम्दानी रु १५ अर्ब बढी खेर गएको छ ।

एक स्थानमा पाइप जडान गर्दा ३ देखि ४ पटकसम्म जाँच गरी भए नभएको टेकनिकल जाँच गर्दै आएको प्रवक्ता न्यौपानेले बताउनुभयो । माथिल्लो खण्डमा जडान गर्नका लागि सहज भए पनि तल्लो खण्डमा काम गर्नका लागि निकै कठिन भएको न्यौपानेले बताउनुभयो । ठेकेदारले ढिलाई गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका काम समयमा नसक्ने प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादित ४५६ मेगावाट विद्युत् सबस्टेशनमा जडान गरेर मात्र विभिन्न स्थानमा प्रसारण गर्न सकिन्छ । माथिल्लो तामाकोशीले ग्यास इन्सुलेटेड स्वीच ९जीआइएस० प्रविधिबाट निर्माण गरिरहेको २२०÷१३२ किलोभोल्ट क्षमताको सबस्टेशन यो नै नेपालको पहिलो भएको उहाँको दाबी छ ।

जीआइएस प्रविधिको सबस्टेशनमा सम्पूर्ण मेसिन तथा उपकरण एउटा ठूलो भवनभित्र हलमा जडान गरी व्यवस्थित गरिसकेको छ । यसअघि नै रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीको १३९ रोपनी क्षेत्रफलमा निर्माणाधीन सबस्टेशनको लागत रु दुई अर्ब रहेको माथिल्लो तामाकोशी आयोजनाको इलेक्ट्रिकल शाखा प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो ।

आयोजनाको लट ४ अन्र्तगत गोगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभीको प्रसारण लाइन भारतको केइसी इन्टरनेशनल मिमिटेडले गर्दै आएको आयोजनाले जनाएको छ । सबस्टेशन निर्माणको जिम्मेवारी पनि केइसीले नै पाएको छ । आयोजना र कम्पनीबीच २०६९ साल पुस २६ गते ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २०७२ साल असारसम्म प्रसारण लाइन र सब स्टेशनको काम पूरा गर्ने सम्झौता गरेको थियो । प्रसारण लाइन र सबस्टेशनका लागि एक करोड ७९ लाख ४ हजार ८७२ अमेरिकी डलर र रु २५ करोड २५ लाख ५९ हजार ५२० लागत सम्झौता भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले न्यू खिम्ती सबस्टेशनका लागि जग्गा व्यवस्थापन गरी दिनुपर्ने भएकाले प्राधिकरणले जग्गा व्यवस्थापन गर्न नसकेपछि अपर तामाकोशीकै पहलमा जग्गा व्यवस्थापन यसअघि नै भएको हो । जग्गा व्यवस्थापन ढिला हुँदा २०७३ साल पुसबाट मात्र सबस्टेशन निर्माण शुरु भएकाले गर्दा पनि निर्माण समयमा नभएको आयोजनाले जनाए ।

पछिल्लो थपिएको म्यादअनुसार ठेकेदार कम्पनी केईसी इन्टरनेशनलले सबस्टेशनको निर्माण २०७६ साल माघ मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि यो समयमा सक्नु निकै कठिन हुने देखिएको हो । सबस्टेशनका लागि चाहिने विभिन्न मेशिनको ढुवानी कार्य ६५ प्रतिशत सकिएको भए पनि समयमै काम शुरु नभएकोले सक्न निकै कठिन भएको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिरकणले खिम्ती र लिखु खोलामा निर्माणाधिन विद्युत् आयोजनाबाट यही सबस्टेशनमा विद्युत् जोडिने भएको छ । सबस्टेशनबाट तराई र काठमाडौँसम्म विद्युत् प्रसारण गर्ने लक्ष्य रहेको बताएको छ ।

केईसी इन्टरनेशनले नै निर्माण गरिरहेको २२०/१३२ केभीको डबल सर्किट प्रसारण लाइनको भने उल्लेखनीय प्रगति हासिल गरेको शाखा प्रमुख रञ्जितले जानकारी दिनुभयो । लामाबगरको गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनको १२७ वटा टावर निर्माण गरी ४२ किलोमिटर तार टाँग्ने कार्य सम्पन्न भइसकेको रञ्जीतकारले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको छ । विद्युत् उत्पादन हुँदा प्रसारण लाइन पूरा हुनेछ तर पावर हाउसमा विद्युत् उत्पादन गर्ने उपकरण जडान पूरा भएको ८ महिना पूरा भएको छ ।