• गृहपृष्ठ
  • धनुषा बम विस्फोटका मुख्य योजनाकार पक्राउ

धनुषा बम विस्फोटका मुख्य योजनाकार पक्राउ

Jan 4th, 2020

धनुषा, १९ पुस (रासस)

धनुषामा एक प्रहरी निरीक्षक सहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

गत मङ्सिर २७ गते राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित नौजनाको पहिचान भइसकेको प्रदेश नं २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताउनुभएको छ । महेन्द्रनगर बजारमा रहेको राजेश साहको घरमा टाइम बम राखेर विस्फोट गराइएको थियो । सो बम विस्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी राजेश साह निजको छोरा आनन्द साह गरी तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएको थियो ।

सो घटनामा साह बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नं २ संयोजक ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामशोभित गाहा रहेका छन् ।