• गृहपृष्ठ
  • राजश्व सङ्कलनले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री

राजश्व सङ्कलनले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री

Jan 3rd, 2020

भजनी, १८ पुस (रासस)

अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व सङ्कलन गरेर मात्र देश समृद्ध बनाउन नसकिने बताउनुभएको छ ।

सत्ती भन्सार कार्यालयको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राजश्व सङ्कलनले मात्र नभई अन्य आन्तरिक आयस्रोतबाट आत्मनिर्भर बन्न सके मुलुक समृद्ध हुन्छ ।” अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामी ऊर्जामा आत्मनिर्भर बन्दैछौँ । कृषिमा पनि आत्मनिर्भरताका लागि सरकारले काम गरिरहेको छ । अहिले विभिन्न बहानाबाजीमा वैदेशिक विवादमा फसाउन खोजिएको छ । तत्काल वैदेशिक सहायता चाहिएको छ । विदेशी सहायतालाई राष्ट्र निर्माणको रुपमा वर्तमान सरकारले लिएको छ ।”

सामाजिक सुरक्षा कार्यक्रमलाई वर्तमान सरकारले महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले दुई वर्षभित्र ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम र एक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने बताउनुभयो ।

मन्त्री डा खतिवडाले विकास सूचकाङ्कमा पछाडि परेका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं। २ लाई विशेष महत्वका साथ हेरिएको उल्लेख गर्दै विकासका आवश्यक पूर्वाधार निर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“देशको चरम गरिबी छिट्टै मुक्त हुन्छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनु पर्दैन । सबै नेपालीलाई समानतासँगै अगाडि बढ्नेमा सरकार प्रतिबद्ध छ ।” भन्सार कार्यालयलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने तथा क्वारेन्टाइन स्थापनाका लागि पहल शुरु भइसकेको पनि उहाँले बताउनुभयो ।

विसं २०७५ कात्तिक ५ गतेबाट मूल भन्सारको रुपमा कामकाज शुरु गरेको सत्ती भन्सार कार्यालयको आज औपचारिक रुपमा उद्घाटन भएको हो ।