• गृहपृष्ठ
  • तनहुँको बन्दीपुर गाउँपालिकामा बीसवर्षे गुरुयोजना तयार

तनहुँको बन्दीपुर गाउँपालिकामा बीसवर्षे गुरुयोजना तयार

Jan 3rd, 2020

– कृष्ण न्यौपाने
दमौली, १८ पुस (रासस)

तनहुँको बन्दीपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको छ । विभिन्न चरणको छलफलपछि गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको हो ।

विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीयस्थल हो”, थापाले भन्नुभयो, “यसको थप विकासका लागि आजैदेखि काम थाल्न आवश्यक छ ।” गाउँपालिकाका प्रमुख थापाका अनुसार गुरुयोजनाअनुरुपका नीति तयार गरी विकासका कार्यक्रमलाई कार्यान्वयन गर्दै लगिनेछ ।

उहाँका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको भरपुर प्रयोग गरिनेछ । बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने लक्ष्य बनाइएको छ ।

काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफँैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि माघ महीनाभित्रमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणको काम शुरु गर्ने भएको छ । बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को डिपिआर तयार भइसकेको छ । थापाका अनुसार दृश्यावलोकन स्तम्भ निर्माणपछि गाउँपालिकालाई वार्षिक रु तीन करोड आम्दानी हुनेछ । त्यस्तै पर्यटकलाई आकर्षित गर्नका लागि जिप फ्ल्यार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कामलाई अगाडि बढाइएको छ । दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफामा उद्यान निर्माणलाई अगाडि बढाइएको छ भने जनप्रतिनिधि उद्यान निर्माण सम्पन्न भइसकेको छ । २० वर्षभित्र पर्यटकलाई कम्तीमा दुई रात बन्दीपुरमा बास बस्न सक्ने गरी पूर्वाधार निर्माणलाई जोड दिइएको थापाले जानकारी दिनुभयो ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जोकसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।

बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छ । ती सबै होटलमा एकैपटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् ।