• गृहपृष्ठ
  • इलामबाट तराई जोड्ने द्रुत मार्ग सञ्चालनमा

इलामबाट तराई जोड्ने द्रुत मार्ग सञ्चालनमा

Jan 3rd, 2020

मङ्गलबारे, १८ पुस (रासस)

इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा भोगेको दुःख स्मरण गर्दै अब बिहान तराई पुगेर बेलुका नभई फिर्न सकिने बताउनुभयो । उहाँ मात्र हैन सो क्षेत्रका धेरै स्थानीयवासीको लामो समयदेखिको प्रतीक्षा र धैर्य सफलरूपमा परिणत भएको छ । यस सडक इलाम नगरपालिकाको भञ्ज्याङ हुँदै पुवाखोला–सोयाक, राकसे–बेलाँसे, चिसापानी–दानाबारी हुँदै झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा इलामबाट फिक्कल हुँदै चारआलीबाट ८६ किमि लामो यात्रा पार गर्नु पर्दछ तर द्रुत मार्गबाट ४२ किलोमिटर दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ ।

यस सडकमा बस सेवा शुरु भएपछि स्थानीयवासी जति हर्षित छन्, कच्ची सडक भएकाले उति नै निरास पनि छन् । सडकमा कालोपत्रे नभइञ्जेलसम्म यसको भविष्य अन्योल नै रहने भन्दै सडकलाई कालोपत्रे गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । उनीहरूका अनुसार सडकको अवस्था सुधार गर्न इलाम नगरपालिका लाग्ने हो भने इलाम सदरमुकाममा समेत चहलपहल बढ्ने छ ।

इलामबाट तराई जोड्न हाल मेची राजमार्ग बाहेक, गाग्रेभञ्ज्याङ, जितपुर दानावारी सडक र इलाम माइखोला हुँदै चिसापानी, दानावारीबाट विर्तामोड पुग्ने सडक सञ्चालनमा छन् । मङ्गलबारे र इलामबाट भएका अन्य सडकसमेत चिसापानी र दानाबारीबाट भेट्टिने भएकाले पनि यस सडकमा हाल बाक्लोरूपमा सवारी सञ्चालन हुँदै आएका छन् ।