• गृहपृष्ठ
  • सुर्खेतमा खानेपानी पु-याउन दुई आयोजनाको काम अघि बढाइँदै

सुर्खेतमा खानेपानी पु-याउन दुई आयोजनाको काम अघि बढाइँदै

Jan 2nd, 2020

सुर्खेत, पुुस १७

खानेपानीको समस्या झेलिरहेको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पानीको आपूर्ति बढाउने उद्देश्यले दुई वटा आयोजनाको काम सुचारु भएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पु-याउने उद्देश्यले आयोजनाको काम अघि बढेको छ । गुर्भाकोट नगरपालिकाको वडा नं. ६,७, ८ र ९ का जनतालाई खानेपानी पु-याउने उद्देश्यले भेरी नदीको पानी पम्पिङ गरेर आयोजना अघि बढाइएको हो ।सुभाघाट सहरी खानेपानी आयोजनाको नामबाट गुर्भाकोट नगरपालिकामा खानेपानी वितरण गर्ने गरी काम धमाधम अघि बढिरहेको आयोजना प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उक्त आयोजनाको निरीक्षण गर्न केही दिनअघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासे र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दास सुर्खेत पुग्नुभएको थियो ।
गत असारमा ठेक्का सम्झौता भएर काम सुरु भएको सुभाघाट खानेपानी आयोजनाको भौतिक प्रगति करिब १७ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत पुगेको आयोजना प्रमुख उपाध्यायले बताउनुभयो । ६२ करोड लागत भएको यस आयोजनाको काम अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । भेरी नदीको पानी पम्पिङ गर्ने र प्रशोधित गरेर वितरण गर्ने योजना रहेको उपाध्यायले बताउनुभयो । यो आयोजनाबाट करिब १७ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सुर्खेत उपत्यका बृहत खानेपानी आयोजना अन्तर्गत मुहान बनाएर पानीको मात्रा परीक्षण गर्ने काम सुरु हुँदैछ । सुर्खेत उपत्यकाका करिब २ लाख जनसंख्यालाई पानी पु-याउने उद्देश्यले आयोजनाको काम अघि बढाउन लागिएको हो । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले यसको काम गरिरहेको छ । मुहान बनाएर भेरीको पानी ल्याउने र सुर्खेत उपत्यकामा वितरण गर्ने महत्वाकांक्षी योजना सहित मन्त्रालयले काम अघि बढाएको छ ।