तरकारी खेतीमा रमाउँदै मुसहर

Jan 2nd, 2020

गौशाला, १७ पुस (रासस)

गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आउनुभएको थियो ।

उहाँ भन्नुहुन्छ, “गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला मजदूरी गर्ने दिनको अन्त्य भएको छ । तरकारी स्थानीय बजारमा बेचेर आम्दानी गर्न सफल भएको छु ।” स्थानीय रमेश्वरा सदाले बगरखेती यस वर्ष चार हजार आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । त्यस्तै दुई वर्षअघिसम्म घरकै कामकाजमा सीमित रहेकी ४५ वर्षीया दौनादेवी सदा दिनभरि नै तरकारीलाई स्याहरसुहारमा व्यस्त रहेकी हुन्छिन् ।

गौशाला नगरपालिकाले भर्लेनी र सोनी खोलाको बगरको खाली जग्गा स्थानीय ६० मुुुुसहर घरपरिवार निःशुल्करुपमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गामा नमूना बगरखेती गर्न ती समुदाय जुटेका हुन् । रामभरोस महतोले तरकारी खेतीबाट आफूहरुको जीवनशैली परिवर्तनको र आम्दानी समेत बृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बगरमा मुसहर समुदायले उत्पादन गरेको तरकारीखेती नमूना रहेको र यसले यहाँका अन्य किसानलाई समेत लोभ्याउँदै गरेको छ ।”

बेलगाछीमै रहेको जनजागरण कृषि सहकारी संस्थाले उनीहरुलाई तरकारीखेती गर्नका लागि समयसमयमा प्रशिक्षण र जैविक प्रविधिले खेती गर्न हौसला बढाइएको छ । सस्थाका अध्यक्ष काशी महतोले सहकारीले अहिले किसानलाई नर्सरी कसरी राख्ने, कति दूरीमा रोप्ने, सिँचाइ कसरी गर्नेलगायत सिकाइरहेको जानकारी दिनुभयो ।

बगरखेती गर्नका लागि गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा रु पाँच लाख बजेटले जग्गा सम्याउने र किसानलाई तरकारीखेती गर्नका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो । नगरपालिकाले यस वर्ष १० लाख बजेटसमेत बिनियोजन गरेको नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताउनुभयो ।