इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

Jan 2nd, 2020

जाकार्ता,१७ पुस (रासस/एएफपी)

इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसको घर भत्किएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । “अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,” सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भन्नुभयो । उहाँले मृत्यु हुनेको सङ्ख्या अव नबढ्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

लेबाकका स्थानीय उद्धारकर्ताहरुले पनि दुई जनाको मृत्यु भएको बताएका छन् । उनीहरुले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन् । जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय बृद्धसम्मको मृत्यु भएको पिडितहरुले बताएका छन् ।

“बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा प¥यौँ,” एक महिलाले भनिन् । जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।