• गृहपृष्ठ
  • कालीञ्चोक मन्दिर धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास हुँदै

कालीञ्चोक मन्दिर धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास हुँदै

Jan 1st, 2020

–कृष्णराज गौतम कालीञ्चोक, १६ पुस (रासस)

दोलखाको कालीञ्चोक मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै छ । सदरमुकाम चरिकोटबाट करिब २० किलोमिटर उत्तरतर्फ रहेको उक्त मन्दिरमा दुवै धर्मावलम्बीले पवित्र तीर्थस्थलका रुपमा विश्वास गर्ने हुँदा धार्मिक दृष्टिकोणले प्रमुख गन्तव्य बन्दै गएको हो ।

हिन्दूले हिमालय पुत्री पार्वती (गौरी) आएर तपस्या गरी भगवान शिव (शङ्कर)लाई प्राप्त गरेको विश्वास गरी दर्शन गर्ने तीर्थस्थलका रुपमा मेला भर्ने गर्दछन् । काठमाडौँबाट करिब १४० किलोमिटरको दूरीमा चरिकोट पुग्न सकिन्छ । यहाँबाट नजिकै देखिने हिमालको नामकरण पनि गौरी शङ्कर भनेर गरिएको छ । बौद्धले हरिततारा (देवी) उत्पत्ति भएको पवित्रस्थलका रुपमा पूजा गर्ने गरेको पाइन्छ । लोकेश्वरले नरकलोकमा परेका प्राणी जगत्को उद्धार (कल्याण) गर्ने क्रममा नसकेर रुदा सङ्कलन भएको आँशुबाट कुण्ड बनेको र सोही कुण्डबाट हरिततारा प्रकट भई लोकेश्वरलाई सहयोग प्राप्त भएको विश्वास धर्मावलम्बीमा रहेको बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो । मन्दिरमा बौद्ध अनुयायीले वैशाख पूर्णिमाका साथै शुक्ल पक्षको शुक्रबार मेला भर्ने गर्दछन् ।

हिन्दूले कालीञ्चोक देवीलाई भगवतीका रुपमा पनि मानेका छन् । काठमाडौँको शोभा भगवती, काभ्रेपलाञ्चोकको भगवतीका साथै अन्य स्थानमा रहेका भगवतीलाई दिदीबहिनीका रुपमा पूजा गरिन्छ । यस मन्दिरमा वैशाखमा, जनैपूर्णिमा, अष्टमी, कात्तिक पूर्णिमामा भक्तजनको विशेष मेला लाग्ने गर्दछ । यसरी दुवै धर्मावलम्बीले साँझा देवताका रुपमा विश्वास गर्ने उक्त मन्दिर विश्व समुदायका लागि धार्मिक सहिष्णुताको बलियो उदाहरणसमेत हो ।

समुद्र सतहदेखि मन्दिर तीन हजार ८४२ मिटरको उचाइमा रहेकाले यहाँबाट देखिने हिमशृङ्खला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ । अहिले स्थानीय कुरी बजारदेखि धर्मशालासम्म केवलकारको व्यवस्था गरिएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ ।

हिमाली भेगमा रहेकाले कुरी बजार विगतमा चौँरी चराउने सार्वजनिकस्थल थियो । यस स्थानमा खिमावती गाउँपालिकाका शेर्पा समुदायले चौँरी चराउने गरेकाले चौँरीखर्क समेत भनिन्थ्यो । चरिकोटबाट माथि लागेपछि कच्ची बाटो, खाल्डाखुल्डी भएकाले नियमितरुपमा सार्वजनिक सवारी सेवा सञ्चालन हुन सकेको छैन । ‘रिजर्भ’ गरी चलाइने साना तथा हल्का सवारीसाधन, जीप, मोटरसाइकललगायत निजी साधन चलाउन सकिन्छ ।

मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं ३ मा पर्ने यस क्षेत्रमा सडक स्तरोन्नति, कालोपत्रलगायत आवश्यक पूर्वाधार विकास गर्न प्रादेशिक सरकारले लगानी गर्नसकेमा नेपाल भ्रमण वर्षको सन्दर्भमा बाह्य मुलुकबाट धार्मिक पर्यटकको वृद्धि हुने निश्चित छ ।

उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकार हिमाली, उच्च पहाडी तथा तराई क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन क्षेत्रमा गरिने लगानीले विकास र समृद्धिको आधार तयार गर्दछ । उक्त सरकारले चालू आवमा पर्यटन क्षेत्रको विकासका लागि रु एक अर्ब ६५ करोड खर्च छुट्टाएको छ ।

सरकारले सो प्रदेश सरकारले प्राचीन संस्कृति, ऐतिहासिक विविधता, सम्पदास्थल, धार्मिकस्थलका साथै नयाँ पर्यटकीय गन्तव्य क्षेत्रमा गत मङ्सिर ३० देखि यही पुस ६ गतेसम्म प्रदेशका २५ पत्रकारलाई स्थलगत अवलोकन भ्रमण गराएको थियो ।

कालीञ्चोक डाँडाबाट गौरीशङ्कर हिमाल, चरिकोट, च्छोरोल्पा हिमताल, जटापोखरी, जिरी बजार, दोलखा भीमसेन, बिगु गुम्बा, शैलुङ्गेश्वर महादेवलगायत स्थान तथा त्यस आसपास क्षेत्रका भू–दृष्य अवलदोकन गर्न सकिन्छ । कालीञ्चोक मन्दिरका साथै भीमेश्वर नगरपालिका–९ डाङडुङ्गे डाँडा वरपर क्षेत्रमा निर्माण गर्न लागिएको अन्तरराष्ट्रिय चलचित्र केन्द्र, २० रोपनी क्षेत्रफलमा फैलिएको शिवपोखरी, यस क्षेत्रमा रहेका अग्ला भूभाग ९शैलुङ०, खरीढुङ्गा पर्यटन क्षेत्रको विकास लागि योगदान गर्न सक्ने आकर्षक गन्तव्य हुन् । सरकारले आजदेखि शुरु भएको सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी एक वर्षभित्रमा २० लाख पर्यटक ल्याउने गृहकार्य गरेको छ ।