• गृहपृष्ठ
  • सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण थाल्यो

सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण थाल्यो

Dec 31st, 2019

बगदाद,१५ पुस (रासस/एएफपी)

अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरुका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको छ ।

इराक र सिरियाका करिब पाँच स्थानमा अमेरिकाले यस्तो हमला थालेको हो । अमेरिकी सेनाले इराक र सिरियाका ती स्थानमा आइतबारबाट हमला थालेको बताइएको छ ।
इराकमा रहेका भनिएका कताब हेजबुल्लाहका शिविरहरुलाई अमेरिकी सेनाले लक्ष्य बनाएको हो । केही दिनअघि इराकमा रहेका अमेरिकी सेनामाथिको हमलाका विरुद्धमा यो कारबाही गरिएको हो । केही दिन अघिको सो हमलाका क्रममा इराकमा अमेरिकाका एकजना ठेकेदारको मृत्यु भएको थियो । त्यही आक्रमणको प्रतिउत्तर स्वरुप आइतबार अमेरिकी सेनाको यो आक्रमण शुरु भएको अनुमान गरिएको छ ।

इराकको सुरक्षा निकायले आइतबार अमेरिकी सेनाले गरेको सो हमलामा परी यहाँका कम्तीमा पनि २५ जना कताइब हेज्बोल्लाह समूहका लडाकूको ज्यान गएको छ ।
त्यस आक्रमणमा अरु ५० जना घाइते भएका पनि इराकी सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

केही समययता कताइब हेजबोल्लाहको सो समूहले इराकमा कतिपय स्थानलाई नियन्त्रणमा लिएका थिए । पछि भने इराकी सुरक्षाअधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए ।
आइतबार शुरु भएको सो हमलाले ती क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएको बताइएको छ । यस आक्रमणको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।अमेरिकी सरकारले ती हेज्बुल्लाह समूहलाई आतङ्कवादी सङ्गठनका रुपमा व्यवहार गर्ने गरेको छ । अमेरिकी सेनाले गत हप्ता इराकको किर्कुक शहरमा हमला गरेको थियो । त्यसअघि भएको ती हेजबुल्लाहको आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए ।

त्यस आक्रमणमा परी कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू पनि घाइते भएका थिए ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार वाशिङ्टन डीसीमा बोल्दै अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतवानी इरानलाई दिनुभएको थियो ।

त्यसैगरी आइतबारै अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि लडाकू विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँचवटा स्थानमा आक्रमण गरेको जानकारी यहाँस्थित समाचारदाताहरुलाई दिनुभएको थियो ।

उहाँले आक्रमण गरेका भनिएका ती स्थानहरुमध्ये तीनवटा स्थान इराकको पश्चिमी क्षेत्र र अरु दुइ ओटा भने सिरियाको पूर्व भू–भागमा पर्छन् ।
कताइब हेजबुल्लाह नामको सो लडाकू समूह शिया मुस्लिमहरूको मिलिसिया समूह हो सन् २००७ मा गठन भएको यो सङ्गठन इरानको समर्थनमा स्थापना भएको हो ।