‘गलबन्दी’मा झुमे दर्शक

Dec 31st, 2019

– रामबहादुर थापा
बागलुङ, १५ पुस (रासस)

चर्चित गायक प्रकाश सपुत आइतबार गृहजिल्लामा सुनिनुभयो । बागलुङ महोत्सवका अवसरमा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्च उपलब्ध गराएको थियो । सपुतको गायकीले बागलुङ महोत्सव सङ्गीतमय बन्यो । हजारौँ दर्शक एकसाथ झुमे, रमाए ।

आफ्नो डेढ घण्टे प्रस्तुतिमा सपुतले चल्तीका नौ गीत गाउनुभयो । शुरुमा गम्भीर भावका गीतसहित प्रस्तुत हुनुभएका उहाँले अन्तिममा रमाइला र स्वच्छन्द शैलीका गीत सुनाउनुभएको थियो । विदेशिएका साथीभाइ सम्झेर सपुतले ‘यस्तै छ कहानी परदेशीको’, ‘चररर…बररर…’ र ‘बोलमाया’ गीत गाउँदा दर्शकदीर्घामा मौनता छाएको थियो । सपुत आफँै पनि गम्भीर र भावुक देखिनुहुन्थ्यो । ‘बोलमाया’ परदेशमा प्रियजन गुमाउने परिवारको वेदनामा आधारित गीत हो । डेढ वर्षअघि सार्वजनिक हुँदा उक्त गीत ‘युट्युब ट्रेन्डिङ’ को एक नम्बरमा आउन सफल भएको थियो ।

सपुतले मञ्चबाटै कामको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् भनी कामना गर्नुभयो । “सकभर एक जना नेपाली पनि विदेशिनु नपरोस्, गइहाले पनि काठको बाकसमा आउन नपरोस्”, उहाँले भन्नुभयो । प्रवासी नेपालीका दुःख र संवेदना समेटिएका गीतलाई सपुतले जीवन्त ढङ्गले गाउनुभयो । गम्भीर विषय र भावका गीत गाएपछि उहाँले फरक धारका गीतमा आफूलाई प्रस्तुत गर्नुभयो । सपुतले ‘लुरुरु…हुरुरु…’, ‘रेलीमाई’ लगायतका लोकदोहोरी गीत सुनाउनुभयो । पञ्चेबाजामा आधारित ‘माकुरमाकुर घुर’ गाउँदा दर्शकले नाचेर साथ दिए । यतिञ्जेलसम्म साँझ छिप्पिइसकेको थियो ।

बहुचर्चित र दर्शक/स्रोताले प्रतीक्षा गरेको गीत ‘गलबन्दी’ गाउने बेला भयो । सपुतले सानी छोरी प्रविष्टिलाई पनि मञ्चमा बोलाउनुभयो । बुबाको गायकीमा छोरी प्रविष्टिले पनि स्वर मिलाइन् । दर्शकदीर्घाबाट वाहीवाही गुञ्जियो । महोत्सव चलिरहेको धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गण गलबन्दी हल्लाउँदै नाच्नेको भीडले भरियो ।

विशेषगरी युवापुस्ता रमाएका देखिन्थे । सपुतले गाउँदा पछिपछि दर्शकले पनि उसैगरी गाउँथे । ‘गलबन्दी’ त्यही गीत हो, जसलाई अहिलेसम्म युट्युबमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ । मौलिक भाका, रचना र जीवन्त स्वरले ‘गलबन्दी’ चर्चामा आएको हो । उत्कृष्ट ‘म्युजिक भिडियो’का कारण गीतले दर्शक कमायो ।

‘गलबन्दी’ गाएपछि सपुतले युवालक्षित गीत ‘दोहोरी ब्याटल’ १ र २ गाउनुभयो । यी गीतबाट सपुत विवादमासमेत तानिनुभएको थियो । मौलिक लोकदोहोरीलाई बिगारेको आरोप उहाँमाथि लागेको थियो । ‘ब्याटल’ युवा पुस्तामाझ बढी चर्चित छ । सपुतले सबै उमेर समूहका स्रोता÷दर्शकको मन जित्नुभयो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतले बागलुङ महोत्सव आफ्नो साङ्गीतिक यात्राको प्रस्थानविन्दु भएको स्मरण गर्नुभयो । “पहिले महोत्सव हुँदा तल भुइँमा बसेर अग्रज कलाकारले गाएको गीत सुन्थ्यौँ”, विगत सम्झदैँ उहाँले भन्नुभयो, “बागलुङ महोत्सवबाटै मैले ठूला दोहोरीगीत प्रतियोगितामा भाग लिन शुरु गरेको हुँ ।”

आइतबार सपुतसँगै गायक योगेशकाजी बिसी, श्रीकृष्णबम मल्ललगायतले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो । शुक्रबारदेखि शुरु भएको महोत्सव यही पुस २० गतेसम्म चल्नेछ ।