• गृहपृष्ठ
  • अब कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी पढाइ हुने

अब कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी पढाइ हुने

Dec 30th, 2019

खलङ्गा, १४ पुस (रासस)

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौँ सिनेट बैठकले जुम्लामा एमबिबिएस र एमडिजिपीको कक्षा सञ्चालन गर्ने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एंव प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबिबिएस र एमडिजिपी सञ्चालन गर्ने निर्णय गरको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नं ५ अनुसारको निर्णयानुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रम एमबिबिएस, एमडिजिपी जनरल, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थीयोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोलोजिस्ट, एमएसी इपिडिमियोलोजी, व्याचलर न्यूटे«ेसन र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।

यसैगरी उच्चस्तरका शैक्षिक कार्यक्रमसहित १२ वटा प्रस्ताव सहमतिमा पारित गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानको संशोधित नियमावली, बजेटसहित पारित भएका छन् । यसैगरी प्रतिष्ठानका बहुवर्षीय योजनासमेत पारित भएको प्रतिष्ठानका रजिष्ट्रार काफ्ले जानकारी दिनुभयो ।

प्रतिष्ठानले एमबिबिएस र एमडिजिपीको अध्ययन शुरु गर्ने मार्ग दिएपछि कर्णालीवासी भने खुशी भएका छन् । प्रतिष्ठानको यो सिनेट बैठकले अब कर्णालीको विकासमा अर्को आयाम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक एंव कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिनुभयो । यद्यपि शैक्षिक उच्च तहका कार्यक्रम चिकित्सा शिक्षा आयोगले स्वीकृत दिनुपर्दछ ।

यसैगरी प्रतिष्ठानको सिनेट बैठकले छनोट समितिको अध्यक्ष प्राध्यापक डा गणेश गुरुङ र सदस्यमा डा तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।