• गृहपृष्ठ
  • संरक्षित वन्यजन्तुका विभिन्न ओखेटोपहार सहित १३ जना पक्राउ

संरक्षित वन्यजन्तुका विभिन्न ओखेटोपहार सहित १३ जना पक्राउ

Dec 30th, 2019

काठमाडौं, पुस १४

संरक्षित वन्यजन्तुका विभिन्न आखेटोपहारहरू सहित १३ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ५ भाटभटेनी मन्दिर अगाडिबाट अवैध रुपमा ओसारपसार गरी ल्याई खरिद बिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा २ थान सहित उनीहरुमध्ये ४ जनालाई पुस ६ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका ५ बस्ने ६० वर्षीय सिंह बहादुर मोक्तान, मकवानपुर बकैया गाउँपालिका २ बस्ने ४६ वर्षीय काल बहादुर जिम्बा, धादिङ खनियाबास गाउँपालिका ३ बस्ने २८ वर्षीय सुके तामाङ र धादिङ त्रिपुरासुन्दरी नगरपालिका ३ बस्ने २४ वर्षीय उमेश अधिकारी रहेका छन् ।

यसैगरी, काठमाडौं महानगरपालिका ४ सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्त १ थान सहित ५ जनालाई पुस ८ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ सिद्धलेख गाउँपालिका(४ बस्ने २५ वर्षीय ईश्वर थपलिया, दोलखा बैतेश्वर गाँउपालिका ४ बस्ने ५१ वर्षीय ललित बहादुर बिक, दोलखा बैतेश्वर गाउँपालिका ४ बस्ने ३३ वर्षीय राज कुमार दाहाल, सोही गाउँपालिका बस्ने २५ वर्षीय यम खाती र बैतडी दोगडाकेदार गाउँपालिका(४ बस्ने २३ वर्षीय हरिश भट्ट रहेका छन् ।

यसैगरी काठमाडौं टोखा नगरपालिका ३ ग्राण्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला २ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका ८ बस्ने २० वर्षीय सरोज ओझा, काठमाण्डौ तारकेश्वर नगरपालिका १ बस्ने अखिल लामा भन्ने २३ वर्षीय सुरेन्द्र तामाङ र कैलाली लम्की चुहा नगरपालिका ३ बस्ने कृष्ण क्षेत्री भन्ने १८ वर्षीय कृष्ण साउद क्षेत्री रहेका छन् ।

साथै काठमाडौं महानगरपालिका ४ बालुवाटारबाट ४ केजी तौलको संरक्षित वन्यजन्तु सालकको खपटा सहित सिन्धुली तीनपाटन गाउँपालिका ७ बस्ने कर्ण रम्तेल भन्ने २२ वर्षीय कर्ण बहादुर सार्कीलाई पुस ११ गते प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।