• गृहपृष्ठ
  • कमलविनायक– नगरकोट सडकखण्ड कालोपत्र चार महिनामा सक्न निर्देशन

कमलविनायक– नगरकोट सडकखण्ड कालोपत्र चार महिनामा सक्न निर्देशन

Dec 30th, 2019

भक्तपुर, १४ पुस (रासस)

भक्तपुर, १४ पुस (रासस)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायकबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सो सडकखण्डको आज अनुगमन गर्दै उहाँले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिनुभयो ।

मन्त्री नेम्वाङले स्थानीयवासीको अवरोध नभई पूर्णरुपमा सहयोग हुँदाहँुदै पनि व्यवसायीले काम रोक्नु विडम्बना भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र सडक पूर्णरुपमा निर्माण सम्पन्न हुनुपर्छ भन्नुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “अब हिजोको जस्तो अवस्था छैन, नयाँ परिस्थितिमा नयाँ ढङ्गले गति लिनुपर्छ, विगतमा जस्तो ढिलाइ गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।”

उहाँले भक्तपुर काठमाडौँको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउने, खाल्डाखुल्डी टाल्ने तथा साना आयोजना मात्रै नभई विकासका ठूला योजना शुरु गरिएकोको जानकारी पनि दिनुभयो ।

पूर्वउद्योगमन्त्री महेश बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको जानकारी दिँदै चालु आवभित्रै सबै काम सम्पन्न गर्न भौतिक मन्त्रालय र सडक विभागले पहल गर्नुपर्छ भन्नुभयो । उहाँले भक्तपुरको सूृर्यविनायक क्षेत्रमा तीन पुलको निर्माण गर्न, हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज र मनोहरा करिडोर निर्माण, वीर अस्पताल, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिन माग गर्नुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोट सडक निर्माण सम्पन्न गर्न पटक पटक सरोकार निकायदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म पुग्दा पनि आयोजनाले ढिलाइ गरेको गुनासो गर्नुभयो ।

अनुगमनमा भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका प्रमुख केशव शर्मा र उपनिर्देशक राजेन्द्र ढकाल र सुशील शर्मा, प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्र, सञ्चारकर्मीसहितको सहभागिता थियो ।