• गृहपृष्ठ
  • सबै कम्युनिष्ट एकै ठाउँमा आउनुपर्छ : प्रवक्ता श्रेष्ठ

सबै कम्युनिष्ट एकै ठाउँमा आउनुपर्छ : प्रवक्ता श्रेष्ठ

Dec 30th, 2019

गोरखा, १४ पुस (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा पालुङटार नगरकमिटिले आइतबार गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताउनुभयो ।

“वैज्ञानिक समाजवाद प्राप्तिका लागि योजनाबद्ध ढङ्गले पार्टी अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “नेकपा भन्दा बाहिर रहेका कम्युनिष्ट शक्ति अव एउटै कित्तामा उभिएर बहस र छलफल गरी नयाँ रणनीतिका साथ अघि बढ्नुको विकल्प छैन ।” प्रवक्ता श्रेष्ठले सबै कम्युनिष्ट एकै ठाउँमा बसेर अध्ययन, छलफल र बहसको माध्यमबाट नयाँ विचारको विकास गर्न सके मात्र आजको आवश्यकता पूरा हुने बताउनुभयो । “अव फरक ढङ्गले नजाने हो भने नयाँ वैचारिक क्रान्ति र मुक्तिको अभियानलाई सफल बनाउन सक्दैनौ”, उहाँले भन्नुभयो, “त्यसका लागि नेकपा बाहिर रहेका कम्युनिष्ट एकै ठाउँमा गोलबद्ध हुनु आवश्यक छ ।”

नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले कम्युनिष्ट पार्टीभित्र अनुशासन महत्वपूर्ण कुरा रहेको भन्दै त्यसलाई सबैले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।