neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Dec 29th, 2019

काठमाडौं, पुस १३

काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका ३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरीको कंचनरुप नगरपालिका ४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को.२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, तिनाउ गाउँपालिक ३ ड्याम साईडस्थित सडकमा लु.२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको दमक नगरपालिका ५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।