• गृहपृष्ठ
  • फिजीमा आँधी दुईको मृत्यु, २५ सयलाई आश्रयस्थलको आवश्यकता

फिजीमा आँधी दुईको मृत्यु, २५ सयलाई आश्रयस्थलको आवश्यकता

Dec 29th, 2019

वेलिङटन १३ पुस (रासस/एएफपी)

फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।

यस आँधीमा परेकाहरुलाई आपतकालिन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन् । यस आँधीबाट घरहरु भत्किनुका साथै वालीनाली र रुखहरु ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ, भने दर्जनौ उडान रद्ध भएका छन् ।

पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताउनु भयो ।

‘भीषण आँधीको कारण ती व्यक्तिको मृत्यु भएको बताइएको छ, मृत्यु भएका व्यक्ति चक्रवात आएको बेलामा साथीहरुसँग पौडी खेल्दै थिए,” उहाँले भन्नुभयो । अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उहाँले जानकारी दिनुभयो । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाई छ ।

आँधी परी सिकिस्त घाइते भएका अर्का एक व्यक्तिको पनि अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति भने आँधीका कारण ढलेको रुखले च्यापेर घाइते भएको बताइएको छ । आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । सारै नाम चक्रवात प्रतिघण्टा १५० प्रतिकिलोमिटरको गतिमा आएको थियो ।