• गृहपृष्ठ
  • जडीबुटी स्वदेशमै उपलब्ध तर औषधिमा आयतको भर, ५ वर्षमा उद्योगको अवस्थामा सुधार देखिएन

जडीबुटी स्वदेशमै उपलब्ध तर औषधिमा आयतको भर, ५ वर्षमा उद्योगको अवस्थामा सुधार देखिएन

Dec 29th, 2019

काठमाडौं, पुस १३

उद्योग क्षेत्र बिकास गर्नका लागि लगानी सम्मेलन देखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएपनि उद्योग क्षेत्रमा भने कुनै सुधार हुन सकेको छैन । कुल गार्हस्थ उत्पादन अर्थात जिडिपिमा उद्योग क्षेत्रको योगदान बिगत ५ वर्षमा कुनै सुधार भएके छैन ।

२०७१ सालमा कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ६ प्रतिशत रहेको थियो ।

गत वर्ष पनि ५ दशमलव ६ प्रतिशतको हाराहारीमा रहेको तथ्यांक बिभागको आँकडा छ । यो आँकडाले देशमा उद्योग क्षेत्रको बिकास हुन नसकेको प्रष्ट देखिन्छ ।

कच्चा पदार्थको अभावमा देशमा सञ्चालित कैयन उद्योगले विदेशबाट कच्चा पदार्थ आयात गरेर यहाँ प्रशोधन वा त केहि भ्यालु एड गरेर पठाउने गरेका छन् । कच्चा पदार्थ कुन कुन क्षेत्रमा उपलब्ध छ भनेर ति क्षेत्रका उद्योग स्थापनामा सरकारको खास ध्यान गएको छैन । जसका कारण पनि उद्योग क्षेत्रको बिकास हुन नसकेको हो ।

देशमा प्रशस्त मात्रामा जडिबुटीको उत्पादन भएपनि अहिले पनि विदेशबाट ठूलो मात्रामा औषधि आयात हुन्छ । देशभित्रको कुल मागको ४५ प्रतिशत मात्रै स्वदेशी औषधी उद्योगबाट उत्पादन हुन्छ यसबाहेक अन्य विदेशबाटै आयात हुन्छ ।

जडिबुटि प्रशोधन र औषधि उद्योगमा राज्यले खासै सहुलियत दिन सकेको छैन । जसका कारण पनि औषधि उद्योग स्थापनामा कुनै लहर आउन सकेको छैन ।

त्यसैगरि ९५ प्रतिशत कच्चा पदार्थ नेपालमै उपलब्ध हुने सिमेन्ट उद्योगको स्थापना त भयो तर अहिले उत्पादन नै नगरि बस्नु पर्ने स्थिती सिर्जना भएको छ । सिमेन्ट उद्योगको स्वदेश तथा विदेशको बजार खोजिमा राज्यले चासो नै दिएको छैन । सिमेन्ट जस्तै अन्य क्षेत्रका उद्योगको खोजी गरि त्यसको बजारीकरणमा राज्यले पनि योगदान गर्नु जरुरी छ ।

कृषि, पर्यटन र जलविद्युत क्षेत्रका उद्योगमा पनि प्रशस्त संभावना छ । जसका बारेमा पनि आवश्यक अध्ययन हुन जरुरी छ ।

देशमा कच्चा पदार्थ नै उपलब्ध नभएका केहि उद्योगले भने राजनीतिक पहुचका आधारमा वर्षाैदेखि छुट पाइरहेका छन् । भारतबाट धागो आयात गरेर नेपालमा कपडा बुन्ने कपडा उद्योगले वर्षाैसम्म कर छुट र मूल्य अभिबृद्धि कर फिर्ता पाएपनि अहिले उद्योग नै बन्द गर्ने स्थितीमा आएका छन् ।

सरकारले गत वर्षको बजेट भाषणबाट देशभित्र सञ्चालनमा रहेका कपडा उद्योगबाट उत्पादित कपडामा पनि मूल्य अभिबृद्धि कर लगाउने घोषणा गर्याे । मूल्य अभिबृद्धि कर लागेपछि कपडा उद्योगहरुका उत्पादनहरु महंगा भएका छन् र बिक्नै पनि छाडेका छन् । जसका कारण अहिले कपडा उद्योगहरुले उत्पादन कटौति सँगै कामदार पनि कटौति गर्न लागेका छन् ।

यस्तो समयमा सरकारले भने देशमा के कस्ता उद्योगधन्दा लामो समय सञ्चालन गर्न सकिन्छ र त्यस्ता उद्योगको लागि स्वदेशमै कच्चा पदार्थ उपलब्ध हुन सक्छन् भनेर अध्ययन गर्नुका साथै त्यस्ता उद्योगको स्थापनाका लागि आवश्यक वातावरण पनि तयार गर्न सकेको छैन ।