neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्माणाधीन पोखरा विमानस्थल छ महिना अघि सम्पन्न हुने

निर्माणाधीन पोखरा विमानस्थल छ महिना अघि सम्पन्न हुने

Dec 28th, 2019

कास्की, १२ पुस (रासस)

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्दै तोकिएकै अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । स्थानीयवासीलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने आज यहाँ आयोजित कार्यक्रममा उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ जहाज अवतरणलाई थप सहज बनाउन लागिएको छ । ‘ग्लाइड पाथ’का लागि १०४ रोपनी आवश्यक पर्छ ।”

विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको अवधि भन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२१ जुलाई १० सम्म निर्माण सम्पन्न हुने बताइएको छ । परियोजनाले सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न भई परीक्षण उडान शुरु गर्ने र जुलाईबाट व्यावसायिक उडान शुरु हुने जनाएको छ ।

धावनमार्ग तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको परियोजनाले जनाएको छ । ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्वारको काम जारी रहेको परियोजना प्रमुख मुनाकर्मीले जानकारी दिनुभयो ।

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो । सन् २०१७ को जुलाई ११ बाट निर्माणकार्य शुरु भएको विमानस्थलको कूल लागत रु २२ अर्ब रहेको छ ।