• गृहपृष्ठ
  • विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै चितवन राइनोजले जित्यो पोखरा प्रिमियर लिगको उपाधि

विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै चितवन राइनोजले जित्यो पोखरा प्रिमियर लिगको उपाधि

Dec 28th, 2019

कास्की, १२ पुस (रासस)

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो । प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ ।

शुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ हुनुभयो । चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिनुभएको थियो ।

चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गर्नुभएको थियो । मुस्ताफाले ४३ बलमा ५० रन जोड्नुभयो भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिनुभएको थियो ।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिनुभयो । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई÷दुई तथा किशोर महतोले एक विकेट लिनुभयो ।

चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।