• गृहपृष्ठ
  • पुसको चिसोमा बिहानै नदी किनारमा सफाइ अभियानकर्मी

पुसको चिसोमा बिहानै नदी किनारमा सफाइ अभियानकर्मी

Dec 28th, 2019

काठमाडौँ, १२ पुस (रासस)

पुसको चिसोको समेत बेवास्ता गर्दै वाग्मती सफाइ अभियानकर्मी थापाथलीस्थित कालमोचनघाटमा जम्मा हुँदै थिए सफाइ महाअभियानको ३४६औँ हप्ताको सफाइ अभियान चलाउन । पुसको चिसोमा पनि तीनवटै सुरक्षा निकायसहित ३५० भन्दा बढी अभियानकर्मी उपस्थित थिए नदी किनारमा ।

उमेरले अधिकांशको उमेर ५० नाघेको थियो । यो समूहले आजको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरेको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । सफाइमा महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०८ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ स्थित हनुमानवाटिका मुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा भएको यस क्षेत्रको सफाइमा नदी किनारमा असरल्ल फालिएका फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।

सफाइका क्रममा नदी क्षेत्रलाई प्रहरीले निगरानी गर्ने र यस क्षेत्रमा नगरपालिका–५ ले सिसी क्यामेरा राख्ने सहमति भएको उहाँले सुनाउनुभयो । सफाइपछि मञ्चका अभियानकर्मी पशुपतिबाट वसन्तपुरसम्मको सम्पदा सफाइको चेतना जगाउन आयोजित पदयात्रामा सहभागी भएको जनाइएको छ ।

रुद्रमती सफाइको २९७औँ हप्तामा रातोपुलबाट पशुपति क्षेत्रसम्म सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहितका अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो । सफाइ समूह पशुपतिबाट वसन्तपुरसम्मको सम्पदा पदयात्रामा सहभागी भएको थियो ।

विष्णुमती सफाइ अभियानको २७३औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका– ९ को सङ्गमस्थित सिद्धेश्वर मन्दिर क्षेत्रको नदी किनारमा सफाइ गरियो । तीनवटै सुरक्षा निकायसहित स्थानीय संस्था एवं स्थानीयवासीको सहभागिता सफाइमा रहेको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो ।

सफाइमा जापानी नागरिक इवाओ कोचिहिरासहित आठ पाहुना पनि रमाउँदै सहभागी भएका थिए । जापानीको यो समूहले यसअघि विष्णुमती सफाइका लागि सामग्रीसमेत सहयोग गरेका थिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले देशभरका १०६ भन्दा बढी स्थानमा स्वतस्फूर्त सफाइ अभियान चलाउन प्रेरणा दिएको छ । यसैगरी आज उपत्यकाका चक्रपथ उत्तर र पश्चिम, तिलगङ्गा, सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान चलाइएको छ ।