• गृहपृष्ठ
  • नाइजिरियामा ‘११ इसाई बन्धकहरूको क्रुरतापूर्ण हत्या’

नाइजिरियामा ‘११ इसाई बन्धकहरूको क्रुरतापूर्ण हत्या’

Dec 28th, 2019

कानो,नाइजेरिया, १२ पुस (रासस/एएफपी)

जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको क्रुरतापूर्ण हत्या गरेको छ । हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको छ ।

आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा घटना भएको बताएको छ ।

भिडिओमा देखाइएका पीडितहरूबारे विस्तृत जानकारी दिइएको छैन । आईएसको ‘समाचार संस्था’ अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडियोमा देखाइएका ती सबै पुरुष छन् ।

आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ ।

भिडियो बिहीबार सार्वजनिक भएको हो । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडियो सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् ।

उक्त भिडियो ठेगाना नखुलाइएको खुला इलाकामा खिचिएको छ । जसमा एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर उनीहरूलाई धारिलो हतियारद्वारा शीर छेदन गरिएको छ ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएको करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ’प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो ा