• गृहपृष्ठ
  • भ्रमण वर्ष : उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔँ

भ्रमण वर्ष : उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔँ

Dec 27th, 2019

मुग्लिन, ११ पुस (रासस)

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । पर्यटकीय दृष्टिले प्रचूर सम्भावना बोकेको धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदा भए पनि प्रचारप्रसारको अभाव रहेको छ ।

समितिमा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार पर्यटन व्यवसायी, लगायतलाई समेटिएको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षलाई सफल बनाउन यहाँका पहिचान भएका पर्यटकीयस्थलको प्रचारप्रसार तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने विषयमा समेत छलफल गरिएको छ ।

इच्छाकामनामा चितवन जिल्लाकै अग्लो भूमि सिराइचुली, जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, लामो झरना त्रिशूलीमा ¥याफ्टिङ, काउलेमा चेपाङ बस्ती, याकराङमा गुरुङ बस्तीलगायत महत्वपूर्ण पर्यकटीयस्थल छन् ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक तथा गोरेटो बाटोलाई स्तरोन्नति कार्यलाई तीव्र गतिमा अघि बढाइएको जनाइएको छ । साथै जनजाति बस्तीमा घरबास ९होमस्टे० सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरिरहेका छन् ।

साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार जनसङ्ख्या छ । नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् । यहाँ आउने पर्यटकका लागि चेपाङ समुदायको जीवनशैली अध्ययन गर्ने अवसर मिल्नेछ जसले फरक अनुभूति दिलाउनेछन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जानका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार बटम स्टेशन पनि इच्छाकामना गाउँपालिकामा नै पर्दछ । मनकामना मन्दिर जाने पर्यटकलाई मनकामना माताको दिदीबहिनीमध्ये एक मानिने इच्छाकामना मन्दिरसम्म आउन प्रेरित गरिने अध्यक्ष गुरुङले बताउनुभयो । केबलकार चढेर दैनिक तीन हजार ५०० को हाराहारीमा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

प्रचारप्रसारका लागि पछिल्लो समय गाउँपालिकाले भिजिट इच्छाकामना अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाका अन्य स्थानीय तह प्रायः समथर भू–भाग पर्छन् । आम मानिसले चितवन भन्नेबित्तिकै समथर भू–भाग भन्ने बुझ्छन् । तर इच्छाकामना पहाडी भूगोल भएको गाउँपालिका हो । पहाडी भूगोल भए पनि निकै सुन्दर यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको छ ।