neapl investment mega bank

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Dec 27th, 2019

काठमाडौं, ११ पुस

काठमाडौं, काभ्रे, पर्सा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सडकमा बा.५ ख ६८१७ नम्बरको बसले बा.६५ प १०३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार ईलाम कोल्पुङ ७ घर भएकी २४ वर्षीया दिवाना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालक खोटाङ टेम्बा घर भएका ३४ वर्षीय धनीराम राईको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, धुलिखेल नगरपालिका ११ पातलेखेतस्थित सडकमा ना.१ ज ६१५३ नम्बरको टाटा सुमो बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी सुमोमा सवार सर्लाही ईश्वरपुर नगरपालिका ८ बस्ने २६ वर्षीया मिना कुमारी बोगटीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, ठोरी गाउँपालिका १ नयागाउँ चौतारास्थित सडकमा ठोरी बजारबाट चितवन टाँडीतर्फ जाँदै गरेको ना.५ ख १२१२ नम्बरको बसबाट खसेर सोही बसको टायरले किच्दा बसमा सवार ठोरी गाउँपालिका १ बस्ने २१ वर्षीय अमन प्रजाको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका २ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री कालिकोट कालिका गाउँपालिका ६ बस्ने २७ वर्षीया कल्पना परियारको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ट्याक्टरको ठक्करबाट घाइते भएका मृतकका श्रीमान ४१ वर्षीय रमेश परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका ७ भलबारीस्थित सडकमा लु.१ ख ६४१७ नम्बरको ट्याङ्करले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १६ वर्षीया लक्ष्मी न्यौपानेको बिहीबार दिउँसो मृत्यु भएको छ । साथै उक्त ट्याङ्करको ठक्करबाट घाइते भएकी साइकलयात्री तिलोत्तमा नगरपालिका ७ बस्ने ३१ वर्षीया भोज कुमारी केसीको सोही अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल काठमाडौं रिफर गरिएको छ । फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।