• गृहपृष्ठ
  • साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका

साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका

Dec 27th, 2019

काठमाडौँ, ११ पुस (रासस)

काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उहाँले मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले व्यवस्थापन गर्न एकीकृत प्रणाली लागू गरिएको जानकारी दिनुभयो । सञ्चालनमा रहेका एक हजार ८५६ सहकारीलाई एकीकृत गरी ७०० बनाउने लक्ष्य लिइएको छ ।

सहकारी ऐन २०७४ तथा कामपाको सहकारी ऐन २०७४ मा एकीकृत गर्न सकिने प्रावधान रहेको छ । एकीकृत हुन दुई सहकारी एकअर्कामा तयार रहनुपर्छ । दुई महिनाअघि मात्र कापमाले वडा नं २४मा रहेकोे विराज बचत तथा ऋण सहकारी र वडा नं १३ को सप्तदीप बहुउद्देश्यीय सहकारीलाई एकापसमा एकीकरण गरी ‘सप्तदीप बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन प्रक्रिया शुरु गरिएको थियो । त्यस्तै वडा नं २२ मा रहेको सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था र ३२ वडाको तपस्वी बचत तथा ऋण सहकारीलाई एकीकरण गरी ‘सिटीभिलेज बचत तथा ऋण सहकारी संस्था’ सञ्चालन भइरहेको छ ।

एकीकृत हुने सहकारीले कामपाको सहकारी विभागमा निवेदन दिनुपर्छ । सर्वसाधारणलाई ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट भइसकेको विभागले जनाएको छ ।
यसैगरी कामपा २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । कामपा कार्यपालिका बैठकले एक महिनाअघि सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । विसं २०६४ मा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक विसं २०७४ बाट सम्पर्कविहीन भएको जनाइएको छ । प्रशासन विभाग प्रमुख ढकालका अनुसार सो सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिनुभएको थियो ।
यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा लानुपर्ने कानूनी प्रावधान रहेको थियो ।