• गृहपृष्ठ
  • उपत्यकामा तापक्रम घटेसँगै आज बढी चिसो महसुस

उपत्यकामा तापक्रम घटेसँगै आज बढी चिसो महसुस

Dec 26th, 2019

काठमाडौँ, १० पुस (रासस)

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।

बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम माइनसमा पनि पुग्न सक्छ ।” मौसमविद् नगरकोटीले भन्नुभयो ।

महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु उपयुक्त हुने जनाएको छ । साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ । त्यसैगरी दिपालय ३.५, पोखरा ६.०, सिमरा १०.०, धनकुटा ५.९ र ओखलढुङ्गाको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।