• गृहपृष्ठ
  • लोडसेडिङ हैन, तर किन अचेल बेलाबेलामा बिजुली बत्ति जान्छ ?

लोडसेडिङ हैन, तर किन अचेल बेलाबेलामा बिजुली बत्ति जान्छ ?

Dec 26th, 2019

काठमाडौँ, पुस १०

देशमा लोडसेडिङ गर्नुपर्ने स्थिती नै छैन । किनकी दुई वर्षअघिसम्म विद्युत कम खपत गर्ने उपकरण चलाउन भनेको प्राधिकरणले अहिले बिजुलीको प्रयोग बढाउन भनिरहेको छ। उसो भए आखिर किन अचेल बेलाबेलामा बिजुली जान्छ त ?

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले दैनिक बिजुलीको माग १२ सय देखि १३ सय मेगावाट छ । जसमध्ये स्वदेशका आयोजनाबाट उत्पादित ८ सय ३६ मेगावाट र भारतबाट आयातीत ४ सय मेगावाटबाट परिपुर्ति भइरहेको छ । आवश्यक बिजुली उपलब्ध भएपनि प्राधिकरणले प्राविधिक जटिलताका कारण बेलाबेलामा लाइन काट्ने गरेको छ ।

चिसो बढेसँगै बिजुलीको माग बढेको छ । प्राधिकरणसँग आवश्यक मात्रामा बिजुली उपलब्ध भएपनि पुराना ट्रान्सफर्मरले लोड थेग्न नसकेपछि विद्युत प्रसारणमै समस्या देखिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

प्राधिकरणले गत वर्षदेखि नै ट्रान्सफर्मर परिवर्तनलाई तिब्रता दिएको हो । गत वर्ष मात्रै साढे ६ हजार ट्रान्सफर्मर फेरेको प्राधिकरणले यो वर्षको ५ महिनामा १ हजार ट्रान्सफर्मर परिवर्तन गरेको छ ।

प्रवक्ता अधिकारी भन्छन् ‘ बिजुलीको माग थेग्न नसकेपछि प्राधिकरणले एक प्रसारणलाइनमा अर्काेबाट बिजुली थप्ने अर्थात स्वीचिङ पनि गर्ने गरेको छ । जसबेला पनि केहि बेर बिजुली काटिने गरेको छ । ’

त्यसैगरि सडकमा रहेका पोल हटाउने कार्यलाई पनि तिब्रता दिएकाले पनि बेलाबेलामा बिजुली काट्नु परेको उनको भनाइ छ ।

प्राधिकरणले ग्राहकलाई बितरण गर्ने प्रसारणलाइनमा प्रयोग हुने गरेका इन्सुलेटरबाट पनि विभिन्न स्थानमा बिजुली लिकेज हुने गरेको त्यस्तो बेलामा पनि दुर्घटनाबाट बचाउन लाइन काट्ने गरेको प्राधिकरण बताउँछ ।

बिजुली वितरण प्रणाली स्तरीकृत र आधुनिकिकरण नगर्दा सम्म यस खालको समस्या देखिन सक्छ । भूमिगत विद्युतीय प्रसारण प्रणालीलाई तिब्रताका साथ अघि बढाउन सके प्राधिकरणको विदुत प्रसारणकै संरचना नयाँ मात्रै हुदैनथ्यो ग्राहकले पनि विद्युत बेलाबेलामा जाने समस्याबाट मुक्ती पाउथे । त्यसैले प्राधिकरणले भूमिगत विद्युत प्रसारणलाइ तिब्रता दिन जरुरी छ ।